धरानः आगामी फागुन ७ गतेदेखि धरानमा हुने प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ४ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन सुनसरीले पत्रकार सम्मेलन गरी स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ ।
गत वर्ष पनि धरानमा पुष्प व्यापार मेला भएको थियो । धरानलाई फूलबारीको शहरको रूपमा विकास गर्ने नीतिलाई पनि प्रदर्शनीले सहयोग पुग्ने आयोजकले जनाएको छ ।कार्यक्रम संयोजक प्रेमप्रसाद पराजुलीका अनुसार ‘घरआँगन होस् वा सडक किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाऔं हराभरा’ भन्ने नाराका साथ पुष्प मेला हुन लागेको हो ।
धरान–१२ स्थित अमान बजारमा हुने पुष्प मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ३० गरी जम्मा ३२ वटा स्टल रहने पराजुलीले बताए । ती स्टलमा मौसमी, आलङ्करिक बोटबिरुवा, सुनाखरी, कम्पोष्ट, फूलको गानो, बिउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गरिने बताइएको छ ।
‘यो मेलाले पुष्प व्यवसायीलाई मात्र होइन, आफ्नो घर, आँगन तथा बगैँचा सजाउन चाहनेलाई पनि उपयोगी हुन्छ,’ पराजुलीले भने, ‘फूलप्रति रुचि राख्नेलाई पनि उपयोगी हुने विश्वास गरिएको छ ।’ मेलामा ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।