फाइल तस्बिर

भोजपुरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसँगै भोजपुर जिल्लाका मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

गृह जिल्ला भोजपुरको गोगनेमा आयोजित एक कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले जिल्लाका मुख्य र महत्वपूर्ण सडकलाई क्रमशः स्तरोन्नति गर्दै लाने र कालोपत्रको प्रक्रिया अगाडि बढाउने बताए । प्रदेशको विकासका लागि योजनाबद्ध ढङ्गले काम अगाडि बढाइएकाले जनताले छिटै विकासको अनुुुभूति गर्न पाउने उनले बताए ।

जिल्लाका मुख्य सडक विस्तारको जिम्मा प्रदेश सरकारले लिने र कतिपय ठाउँमा काम पनि शुरु भइसकेको उनको भनाइ थियो । सबै सडकलाई १२ महिना नै सञ्चालन हुन सक्ने गरी बनाइने उनले बताए । कोटको दिप्सा, गोगने हँुदै पाँचधारे जाने सडकलाई बहुवर्षे सडकमा राखेर प्रदेश सरकारका तर्फबाट सवा १ करोड बजेट विनियोजन भएको उनले जनाए ।

गुम्बादेखि गोगने हँुदै लेखर्क जोड्ने सडकलाई आगामी वर्ष ठूलो बजेट विनियोजन गर्ने, टेम्के पाँचधारे, तावा भञ्याङ र आसपासका क्षेत्रलाई आकर्षक पर्यटन केन्द्रका रुपमा विकास गर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।

सदरमुकामदेखि विमानस्थलसम्मको सडक र जिल्लामा अन्तर्राष्ट्रियस्तरको रङ्गाशालाको चाँडै शिलान्यास गरिने पनि उनले बताए ।