बेलबारी, बिराटचौक/ मोरङको सुन्दरहरैचास्थित बिराटचौक हुँदै बिराटनगर जाने घिनाघाट सडकमा बिदाका दिन बाहेक बिहान डेढ घण्टा र दिउँसो २ घण्टामात्र टिपर सञ्चालन गर्न पाईने भएको छ ।

टिपरको आतंक बढेपछि स्थानीयले शनिबार टिपर सञ्चालनमा रोक लगाउन माग गर्दै ४ घण्टा सडक अबरुद्ध गरेका थिए । आईतबार बिहान वडा नम्बर ९ का अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा बसेको ब्यबसायी,स्थानीय बासिन्दा सहितको छलफल बाट बिहान ९ बजेदेखि १०.३० बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म मात्र सो सडकमा टिपर सञ्चालन गर्न पाउने सहमति गरिएको छ ।

सो सडकमा प्रतिघण्टा २० कि.मि को गतिमा मात्र टिपर कुदाउने,बिभिन्न स्थानमा बोर्ड राख्ने र सडक आसपास ५० फिट भित्र भएका बिरुवाहरु ७ दिनमा हटाउने समेत निर्णय भएको स्थानीय सरोज पौडेलले जानकारी दिएका छन ।

मोरङको सुन्दरहरैचा ९ र १२ नम्बर वडाका स्थानीयले शनिबार टिपरको आतंक बढेको भन्दै स्थानीय समिति नै गठन गरेर बिहान ७ बजेदेखि ११ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउनुका साथै बिराटचौक घिनाघाट सडक अबरुद्ध गरेका थिए । सो क्षेत्रमा दैनिक ३ सय बढी टिपरहरु सञ्चालन हुने गरेका छन । तिब्र गतिका कारण दुर्घटनाको जोखिम बढेको र ध्वनि प्रदुषण समेत बढेको भन्दै स्थानीयले सडक नै अबरुद्ध गरेर आन्दोलन गरेका थिए ।