तेह्रथुमः तेह्रथुमको वसन्तपुरका आगलागीपीडित लालबहादुर याख्खाको परिवारलाई राहत रकम र आवश्यकीय सामग्री प्रदान गरिएको छ ।
क्वीक रेस्क्यु टिम इटहरीले नगद १५ हजार र २० हजार रुपैयाँबराबरको लत्ताकपडा र खाद्य सामग्री प्रदान गरेको हो । सो टिमले वसन्तपुरमै गएर राहत प्रदान गरेको थियो । त्यस्तै, सोही टिममा सामेल लायन्स क्लबमा आबद्ध रञ्जु सोनी र सुमी थापाले नगद १२ हजार रुपैयाँ प्रदान गरेका थिए ।
क्वीक रेस्क्यु टोलीमा प्र्रपर्टी डिलर्स एसोसिएसन सुनसरीका अध्यक्ष विक्रम सुब्बा र कोषाध्यक्ष एकराज धमला पनि सहभागी थिए । पीडित परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेको सुब्बाले बताए ।