उदयपुरः उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने काम शुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार स्थलगत अध्ययन गरेको हो ।
टोलीले त्रियुगा नगरपालिका क्षेत्रको भातीखर्क, चाँप, विषणपुर र गाईघाटको ढिम्कीस्थित पिकनिक स्पटलगायत सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवी चौधरीले बताइन् ।
स्थलगत अध्ययन गरिएका स्थानमध्ये चाँप क्षेत्रको २० बिघा जग्गा क्षेत्र सबैभन्दा उपयुक्त भएको अध्ययन टोलीले बताएको पनि उनले जनाइन् ।

त्रियुगा नगरपालिकाले मेडिकल कलेज खोल्न जग्गा उपलब्ध गराउने भएपछि टोलीले यसका लागि सम्भावित क्षेत्रको स्थलगत अध्ययन शुरु गरेको जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले बताए ।
प्रदेश नं १ को उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलु, भोजपुर, सङ्खुवासभा, प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा तथा प्रदेश नं ३ को सिन्धुली र रामेछाप जिल्लालाई केन्द्रीकृत गरेर सरकारले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको टोलीका सदस्य तथा शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्रले बताए ।

अध्ययन टोलीमा संलग्न जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. विष्णुबहादुर बस्नेतका अनुसार उदयपुर त्रियुगा नगरक्षेत्र मेडिकल कलेज स्थापनका लागि उपयुक्त भएको बताउँदै यसले जिल्ला अस्पतालको समेत क्षमता वृद्धि हुने बताए ।

अध्ययन टोलीका संयोजक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीका अनुसार टोलीले अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि यसको सबै कार्य अगाडि बढाउन सजिलो हुनेछ ।

डा. गोविन्द केसीको मागअनुसार नै अब सरकारी क्षेत्रबाट मेडिकल कलेज स्थापना गर्न सरकारले देशको ३ वटा स्थानमा तत्काल तीन मेडिकल कलेज स्थानमा गर्न अध्ययन शुरु गरेको अध्ययन टोलीले जनाएको छ ।
उदयपुर, पाँचथर वा इलाम तथा डडेल्धुरा वा डोटीमध्ये एक स्थानमा एक एक मेडिकल कलेज स्थापना हुने लक्ष्य सरकारले लिएको पनि टोलीले जनाएको छ ।

सो टोलीमा प्रा मधुसुदन सुवेदी, शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्र, विश्वविद्यालय अनुदान आयोगका योजना अधिकृत विनोद भट्टराई, जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विष्णुबहादुर बस्नेतसहित त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरका पदाधिकारी सहभागी थिए ।