ताप्लेजुङः समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गरेका छन् ।

एक महिने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा मङ्गलबार एक कार्यक्रमबीच डा भट्टराईले शुभारम्भ गरेका हुन् । पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको उक्त जनसंवाद यात्रा एक महिनापछि सुदूरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने छ ।

सोही यात्राका क्रममा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तरक्रिया गरिने बताइएको छ ।

अभियानको शुभारम्भ गर्दै डा भट्टराईले सो यात्रा तथा अभियान मुलुकको समृद्धिसँग जोडिएको बताए । जनसंवाद यात्रा तथा अभियान आफ्नो पार्टीको एजेण्डा नभई साझा अभियानका रूपमा यसको शुभारम्भ गरिएको उनको भनाइ थियो । मध्यपहाडी लोकमार्गले मेचीदेखि महाकालीसम्मको भूगोललाई मात्रै नभई हरेक जातजाति र समुदायलाई समेत जोडेकाले यही लोकमार्ग भएर सञ्चालन हुने यात्रामार्फत समृद्धिको सूत्र तयार हुने डा. भट्टराईले स्पष्ट पारे ।

जनसंवाद यात्रामा सो पार्टीका हिसिला यमीलगायत अन्य नेता तथा कार्यकर्ता सहभागी छन् । ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ नारा दिइएको उक्त यात्रा तथा अभियानका क्रममा २७ जिल्लाका ९० स्थानमा कार्यक्रम गरिने नयाँ शक्ति पार्टी नेपालका ताप्लेजुङ संयोजक सविन बानियाँले बताए ।