विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गरिने बताए ।

नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले विकास र समृद्धिको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको बताए ।

मुख्यमन्त्री राईले हिमाल, तराई र पहाडका जनताको विकासप्रतिको चाहना परिपूर्ति गर्न भूगोलअनुसारका विकास कार्य गर्न प्रदेश सरकार योजनाबद्ध भएर लागेको चर्चा गर्दै यस क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरी स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने बताए ।

मुख्यमन्त्री राईले विराटनगरवासीको चाहनाअनुरूपको बृहत् मनोरञ्जनस्थलका पार्कको निर्माण गर्नुपर्नेमा जोड दिँदै ‘सडक, विद्युत्, सहरीकरण, स्वास्थ्य, शिक्षा’ जस्ता जनताका आवश्यक विकास योजनालाई गुरुयोजना बनाई सरकारले निर्माण गर्ने बताए ।

यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने पनि उनले बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले टर्मिनल क्षेत्रमा सेवा केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउँदै यसको संरक्षण, सफाइ र सुरक्षाका लागि सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

युवालाई दक्ष बनाउन ९ हजार युवालाई तालीम दिइने
सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष जनशक्ति निर्माणका लागि प्रदेश सरकारले ९ हजार युवालाई तालीम प्रदान गरिने बताए । नगर क्षेत्रमा ३ सय किलोमिटर सडक कालोपत्रे, विमानस्थल विस्तार र वैजनाथपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण कार्य अगाडि बढाएको उनको भनाइ थियो ।

प्रदेशसभामा नेपाली काङ्ग्रेसका सचेतक केदार कार्कीले नयाँ बस टर्र्मिनलमा शिशुस्तनपान स्थान र सुरक्षाको उचित प्रबन्धसहित सीसीटीभीको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

विसं २०७३ मङ्सिर १९ गते शिलान्यास भई विसं २०७५ असोज १४ गते सम्पन्न भएको उक्त टर्मिनल ३० कट्ठा जग्गामा ५ हजार ५ सय ८० वर्गमिटरमा निर्माण गरिएको छ । गौरीपार्वती निर्माण सेवा काठमाडौंले रु ८ करोड ४७ लाखमा निर्माण सम्पन्न गरेको बस टर्मिनलमा रेष्टुराँ, कफीसप, लगेज रुम, टिकट काउण्टर र महिला तथा पुरुष शौचालयको व्यवस्था रहेको छ ।