विराटनगरः जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले विराटनगरलाई स्थायी राजधानी घोषणा गर्नुपर्ने बताएका छन् । विराटनगर राजधानी घोषणा नभएमा जिल्लावासीको सहयोगमा समितिका भवनमा सञ्चालन भएको प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने उनले उद्घोष गरे ।
विराटनगर बस टर्मिनल भवनको उद्घाटनमा उपस्थित भएका मुख्यमन्त्री शेरधनराई, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानुन मन्त्रीपि हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको उपस्थितमा भएको कार्यक्रममा पोख्रेलले यस्तो बताएका हुन् ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्घीय र प्रदेश सरकारको सहयोगमा विकास कार्य अगाडि बढाउने बताए । बस टर्मिनल क्षेत्रमा बायोग्यास शौचालयको निर्माण गरिने उनको भनाइ थियो ।
विसं २०७३ मङ्सिर १९ गते शिलान्यास भई विसं २०७५ असोज १४ गते सम्पन्न भएको उक्त टर्मिनल ३० कट्ठा जग्गामा ५ हजार ५ सय ८० वर्गमिटरमा निर्माण गरिएको छ । गौरीपार्वती निर्माण सेवा काठमाडौंले रु ८ करोड ४७ लाखमा निर्माण सम्पन्न गरेको बस टर्मिनलमा रेष्टुराँ, कफीसप, लगेज रुम, टिकट काउण्टर र महिला तथा पुरुष शौचालयको व्यवस्था रहेको छ ।
टर्मिनलबाट एक समयमा ५५ वटा यातायात साधन राख्ने व्यवस्थासहित सरसफाइका लागि २० हजार लिटर पानी अट्ने पानी ट्याङ्कीसमेत निर्माण गरिएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश अध्यक्ष किशोर धमलाले टर्मिनल सञ्चालनका लागि यातायात मजदुरसँग छलफल नभएको बताए । लामो र छोटो दूरीका गरी ३ सय ५० वटा बस प्रत्येक ५÷५ मिनेटमा छुट्ने भएकाले महानगरपालिकाले यातायात व्यवस्थासँग सहकार्य गरी सञ्चालन गर्नुपर्ने धमलाले बताए ।