इटहरीः नेपाली फुटबलले आफ्नो पुरानो लय कायम गर्दै गएको थियो । त्यही समयमा नेपालमा नाकाबन्दी लाग्यो । नाकाबन्दीले मुलुक आक्रान्त बनेको बेला नेपाल १२ औं दक्षिण एशियाली खेलकुद (साग)को फाइनलमा पुग्यो ।
संयोगवश नेपालले गोल्ड मेडलका लागि प्रतिष्पर्धीको रूपमा समेत भारत नै प्रतिद्वन्द्वी पाएको थियो । नाकाबन्दीले मुलुक तनावमा रहेको बेला सागमा समेत नेपालमाथि भारतले हेप्न छाडेन । त्यही पीडालाई आत्मसात गर्दै कप्तान विराज महर्जनले नेपालको उपाधी यात्रा कायम राखे । बंगबन्धु जितेर उपाधी खडेरी तोडेको नेपाली टोली दोस्रो उपाधी होडमा थियो र नेतृत्वमा थिए विराज । साग गेमको फाइनल अघि भारतले नेपालको राष्ट्रगान बन्द गरिदियो । ‘भारतले बीचमै राष्ट्रगान बन्द गरिदियो । हामीले आफैँ गाएर पूरा ग¥यौं । शायद त्यसैले हुनुपर्छ सवैले मेडल भन्दा नि आत्मसम्मानको लागि खेल्यौँ,’ कप्तान विराज मर्हजन सम्झन्छन् । यसरी विराजले नेपाली फुटबललाई नेतृत्व गर्दै सफल कप्तानको रूपमा आफ्नो नाम नेपाली फुटबल इतिहासमा लेखाए ।
फुटबल शुरुवात
घर परिवारमै फुटबलको वातावरण । अझै घरै छेउमा दुईवटा प्रतिष्ठित फुटबल क्लब । यही माहोलले तान्यो विराज महर्जनलाई फुटबल खेलमा । सानैदेखि फुटबलमा रुची राख्ने विराज आफ्ना बुबा र दाजुको प्रेरणाले फुटबलर बनेको बताउँछन् ।
दाजु विक्रम महर्जन आफँै एन्फाको पहिलो ब्याचका कप्तान र घर नजिकै त्यो बेलाका चर्चित क्लब एनआरटी र ब्वाइज युनियन भएकाले उनको मन फुटबलले तान्यो । राष्ट्रिय टिमका कप्तान समेत रहेका विराज सम्झन्छन्, ‘दिनहँु दाइहरू फुटबल खेलेको देख्दा मलाई नि मन लाग्थ्यो । बाबाले बाइकमा हालेर फुटबल खेल भएको ठाउँमा लाने गर्नुहुन्थ्यो शायद त्यसैले होला फुटबलमा रुची बढ्यो ।’
उनका काका रत्नकाजी महर्जन पनि एक समय नेपाली राष्ट्रिय टोली यु–२३ का खेलाडी थिए । एन्फाले एकेडेमीको लाग दोस्रो ब्याच छनोट गर्दा विराज काठमाडांै जिल्लाबाट देशभरका ३० हजार खेलाडीमाझबाट अन्तिम ७८ मा छनोट भए । छनोटपछि उनले ज्ञानोदय आवासीय विद्यालय खोकना ललितपुरमा अध्ययन गर्दै आफ्नो फुटबल करियरलाई अघि बढाए ।
छनोट खेल खेल्न जाँदाको क्षण सम्झँदै विराज भन्छन् ‘दादा जसरी पनि तिमी पनि सेलेक्ट हुनुपर्छ भनी बाबाले भन्नुभएको थियो । मिहिनेतले खेलेर ३० हजार माझ आफूलाई प्रमाणित गरेँ ।’
विराजले उमेर समूहको खेल यु–१४ देखि खेल्न शुरु गरेका हुन् । २००६ मा उमेर समूहको विश्वकप छनोट अघि सिंगापुरमा भएको एएफसी यु–१७ च्याम्पियनसिपमा समेत विराजले खेलेका थिए ।
यो बेलाको क्षण विराज यसरी सम्झन्छन्, ‘तुलनात्मक रूपमा हामी विपक्षीभन्दा कमजोर थियौँ । त्यसैले अपेक्षा गरिए अनुरूप भएन । कोरिया सँग २–० र जापानसँग ६–० ले हारेका थियौँ तर जापानजस्तो बलियो टिमलाई बराबरीमा रोक्न सफल सिंगापुरसँग गोलरहित बराबरी खेल्न सफल भयौँ ।’
२००७ मा भएको यु–१९ मा पनि नेपालको टोलीमा विराज थिए । तर नेपाल एक खेल नजिती प्रतियोगिताबाट बाहिरियो ।
क्लब यात्रा
एन्फामा रहँदा नै उनी सन् २००८ मा सङ्कटा क्लबसँग आबद्ध भई एक सिजन बिताएपछि एनआरटीबाट ३ सिजन लिग खेले । लिगमा सङ्कटाले धेरै खेल जित्यो तर लिग विजेता भने बन्न सकेन । एनआरटी पछि उनले ५ सिजन थ्री स्टार क्लबमा बिताए । उनकै पालामा २०६९ को सिजनमा थ्री स्टार लिग विजेता बन्दा विराज बेस्ट डिफेन्डर पनि बनेका थिए । २०७२ बाट भने विराज मनाङमस्र्याङ्दी क्लबमा आबद्ध छन् । उनी हाल मनाङका कप्तानसमेत हुन् । नेपालमा अहिले धेरै गोल्डकप हुने भएकाले उनी पूर्वी नेपाल देखि पश्चिमसम्म गएर खेल्ने गरेका छन् ।
राष्ट्रिय टिममा डेब्यु
विराजले नेपालको राष्ट्रिय टोलीमा भने सन् २००८ मा डेब्यु गरेका हुन् । पाकिस्तान विरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलमा उनी प्लेइङ इलेभेनमा नै मैदानमा उत्रिएका थिए । विराजसँगै सो खेलमा एन्फाका ब्याच स्टाइकर भरत खवासले पनि नेपालको लागि डेब्यु गरे ।
राष्ट्रिय टिमका ‘राइट ब्याक’ विराजले अन्तर्राष्ट्रिय १ गोल पनि गरेका छन् । २०१० मा किर्गिस्तानविरुद्ध उनले ४५ याड टाढाबाट हानेको फ्रि किक गोलमा परिणत भएको थियो ।
कप्तानीको अवसर
उनले कप्तानीको पहिलो अवसर भने सन् २०१५ को अन्त्यतिर केरलाको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपमा पाएका थिए । जतिबेला नेपालले लिग चरणको आफ्नो दोस्रो खेल भारतसँग खेलेको थियो । श्रीलंका विरुद्धको पहिलो खेलमा अनिल गुरुङ कप्तान थिए । तर भारतविरुद्धको दोस्रो खेलमा भने अनिलले शुरुदेखि खेल्ने मौका पाएनन्, जसको फाइदा विराजलाई भयो । उनी निर्विवाद कप्तान बने ।
नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्दा विराज नै कप्तान थिए । १९९३ को साफ यता नेपालले २३ वर्षसम्म कुनै उपाधी नजितेको अवस्थामा विराजको नेतृत्वमा २३ वर्षपछि उपाधीको खडेरी तोडियो । त्यो समय नेपाली फुटबलका ह्याट्रिक हिरो भनेर नवयुगको चर्चा चल्यो तर नेपालको उपाधीको खडेरी तोड्ने कप्तान महर्जनको भने खासै चर्चा हुन पाएन ।
विराजले यस सफलतामा गौरव महसुस गरेका छन् । ‘मैले फुटबल खेल्न शुरु गर्दा यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ । निरन्तर मिहिनेत गर्दै गएँ र सौभाग्य भन्नुपर्छ राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाएँ’, उनले भने, ‘यहाँसम्म आइपुग्दा मलाई परिवार, समकक्षी खेलाडी र प्रशिक्षक तथा समग्र फुटबलको साथ मिलेको छ ।’
उनले भने, ‘देशको प्रतिनिधित्व गर्नु गौरवको कुरा हो, जुन मैले लगातार प्राप्त गरिरहेको छु । मैले प्रत्येक खेल आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रण गरेर मैदानमा उत्रन्छु । अहिले इतिहासमा आफ्नो नाम लेखाउन पाउँदा मसँग खुसी व्यक्त गर्न शब्द छैन ।’
सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान
पूर्व राष्ट्रिय खेलाडी राजुकाजी शाक्यले १९९७ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध ६८ क्याप जित्दै कीर्तिमान कायम गरेका थिए । तर त्यसलाई विराजले ४ सेप्टेम्बरमा साफ २०१८ को नेपालको पहिलो खेलमा तोडिदिए ।
संयोगकै कुरा मान्नुपर्छ विराजले समेत पाकिस्तान विरुद्ध नै ६९ खेल खेल्दै सर्वाधिक क्यापको कीर्तिमान कायम गरे । यमनविरुद्ध गत २७ मार्चमा कतारको दोहामा सम्पन्न एएफसी एसियन कप २०१९ को तेस्रो चरणको खेल खेल्दै शाक्यको ६८ क्यापको रेकर्ड बराबरी गरेका थिए । ‘लेफ्ट ब्याक’ खेल्दै उनले आफ्नै प्रशिक्षक राजुकाजी शाक्यको कीर्तिमान तोडिदिए ।
पछिल्लो समय विराजले ‘सेन्टर ब्याक’ र ‘लेफ्ट ब्याक’ दुवै भूमिकामा आफूलाई अभ्यस्त गराइराखेका छन । आगामी दिनमा पनि विराज यसलाई निरन्तरता दिने सुरमा छन् । ‘जहिलेसम्म स्वास्थ्यले साथ दिन्छ म निरन्तर राष्ट्रको सेवामा समर्पित छु । म अझै पनि खेल्न सक्ने क्षमता राख्छु र राष्ट्रिय टोलीको सफलतामा योगदान दिन सकेसम्म मैदानमा डटिरहने छु ।’
(तस्बिर विराजको फेसबुक एकाउन्टबाट)