इटहरीः सोमबार भक्तपुरका मेयर सुनिल प्रजापतिले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई तालतलैयाको अवस्थाको बारेमा बुझ्न खोजे । भ्रमणको सिलसिलामा इटहरी आइपुगेका प्रजापतिले इटहरीको आन्तरिक आम्दानीको बारेमा जिज्ञासा राखेका हुन् ।

प्रजापतिलाई अन्तरिक आम्दानीको स्रोत भन्नुपूर्व इटहरीका मेयर द्वारिकलाल चौधरीले तालतलैयाको बारेमा जानकारी गराउन खोजे । ‘यहाँ (इटहरी कार्यालय) भन्दा ४ किलोमिटर उत्तर तालतलैया छ । एउटा एरिया भित्र १०÷१२ वटा ताल छन् ।’
चौधरीले यति भन्दै गर्दा भक्तपुरका मेयर प्रजापतिले पुन आन्तरिक आम्दानीको विषयलाई जोड्न खोजे, ‘ए हो, बेलाबेला सुन्ने गरेको छु । साँच्चै उपमहानगरको ठूलो आन्तरिक आम्दानीको हिस्सा नै त्यही क्षेत्र होइन र ?’

भक्तपुरका मेयर प्रजापतिले तालतलैयालाई आन्तरिक आम्दानीसँग जोडेर गरेको प्रश्नले चौधरी गम्भीर मुद्रामा देखिए । केही बेर रोकिएर प्रजापतिको जिज्ञासाको उत्तर दिँदै चौधरीले भने, ‘अहिले स्थानीय सामुदायिक वनले नै चलाउँदै आएको छ । उपमहानगरले सालबसाली अनुदान मात्र दिँदै आएका छौँ । आन्तरिक आम्दानीको प्रयोग र उपभोग पनि त्यतैबाट हुने गरेको छ ।’

मेयर चौधरीले तालतलैयाको वास्तविकता बताइरहँदा भक्तपुरका मेयर प्रजापतिको अनुहारको उज्यालो अलि हराएको थियो । नाम चलेको प्रसिद्ध पर्यटकीय क्षेत्रबाट राम्रै आन्तरिक आम्दानी हुने बुझाइ प्रजापतिको देखिन्थ्यो । आन्तरिक आम्दानीको विषयको बारेमा सोधेको प्रश्नमा चौधरीले उत्तर दिए । पछि प्रजापतिले प्रश्न नै नगरेको भए हुन्थ्यो जस्तो उनको अनुहारको भावले बताइरहेको थियो ।

पूर्वी नेपालको ठूलो पर्यटकीय गन्तव्य तालतलैया भए पनि सो स्थानलाई नगरपालिकाले भने गतिलो आम्दानीको स्रोत बनाउन सकेको छैन । तालतलैया व्यवस्थापन समितिका अनुसार गत वर्ष ताल क्षेत्रमा ५ लाख पर्यटक आएका थिए । यस पटक उपमहानगरपालिकाको अनुदानमा सञ्चालनमा ल्याइएको स्टिम बोट थपिएको छ । त्यसैले यस पटक १० लाख पर्यटक आउने प्रक्षेपण समितिको छ ।

आन्तरिक आम्दानीको विषयमा मेयर चौधरीले थप बोल्दै आन्तरिक आम्दानीको मुख्य स्रोत नक्सापास मात्र रहेको बताएका थिए । तालतलैयाको विषयलाई विषयान्तर गर्दै आन्तरिक स्रोतको बारेमा थप जानकारी दिँदै मेयर चौधरीले प्रजापतिलाई भने, ‘प्राकृतिक स्रोत धेरै छन् तर हाम्रो आन्तरिक आम्दानीको ठूलो हिस्सा घरजग्गा दर्ताको छ ।’

इटहरीमा प्राकृतिक स्रोतसाधनको राम्रो उपलब्धता छ । तर मेयर चौधरीले उपमहानगरपालिकाको मुख्य स्रोत घरनक्सा पास भएको बताइरहँदा प्रजापति अलि निन्याउरो देखिए ।
करिब आधा घण्टा भएको छलफलमा चौधरीले प्रजापतिको उपलब्धी सुनेर मात्र बिताए । चौधरीले भक्तपुर नगरपालिकाको विकास मोडेलमा चाख दिएर सुनिरहे ।

प्रजापतिले आफ्नो स्थानीय तहमा आइएनजीओ र एनजीओलाइ निषेध गर्दै लगेको बताइरहँदा चौधरी चाख मानेर सुनिरहेका थिए । ‘अहिले दातृ निकायका कार्यक्रममा कडाइ गर्दै आएका छौँ,’ प्रजापतिले भने, ‘हामी आउनुभन्दा पहिले नै सम्झौता भइसकेकालाई सम्झौताको समय अनुसार नवीकरण गर्ने काम मात्र हुन्छ ।’

पूर्वी नेपालका स्थानीय तहमा अध्ययन भ्रमणसँगै भक्तपुर नगरपालिकाले आयोजना गर्न लागेको अन्तरनगर स्तरीय कराते प्रतियोगिताको निम्तो दिँदै प्रजापति पूर्व आएका हुन् ।