बेलबारी/ राज्यले ऐतिहासिक सम्पदाहरूलाई संरक्षण गर्ने नीति अपनाइरहँदा बेलबारी नगरपालिकामा रहेको ऐतिहासिक धनपाल गढी भने संरक्षण र संवद्र्धनको अभावमा लामो समयदेखि ओझेलमा पर्दै आएको छ ।

बेलबारी नगरपालिकाको वडा नम्बर ५ कसेनीमा रहेको यो गढी पूर्वपश्चिम राजमार्गदेखि करिब ७ किलोमिटरको दूरीमा रहेको छ । राजमार्गबाट यति नजिकै रहेर पनि यति पुरानो इतिहास बोकेको यो गढीको त्यति चर्चा हुन नसक्नु दुखद पक्ष हो ।

राजा धनपाल तत्कालीन विराट राजाका समकालीन मानिन्छन् । उनीहरू बीचमा राम्रो मिलजुल भएकाले विराट राजा विजयपुर गढीतर्फ जाँदा त्यही धनपाल गढी भएर हिँड्ने गरेको बताइन्छ ।

३६ बिघा क्षेत्रफलमा फैलिएको यो ऐतिहासिक गढीमा पहिले ७ वटा ठूला पोखरी भए पनि हाल भने ५ वटा पोखरी मात्र रहेका छन् । तीमध्ये पनि अधिकांशमा पानी छैन । गढीको उत्तरतर्फ रहेको राजा पोखरी र रानी पोखरीमा पानी भए पनि ती पोखरीलाई झारले पुरेको छ । पुरै पोखरी नै कमलको फूलले भरिने राजा पोखरीमा हाल कमलका फूल फाटफुट मात्रै देख्न सकिन्छ ।

पोखरीलाई सफा गर्ने नाउँमा स्काभेटर लगाएपछि पोखरी पुरिएको स्थानीय राजेन्द्रकुमार चौधरी बताउँछन् ।

dhanpal gadhi (4) dhanpal gadhi (2)

गढी चारैतिर कम्पाउन्डले घेरिएको र दक्षिणतर्फ मुख्य प्रवेशद्वार रहेको भए पनि हाल कम्पाउण्ड भत्किएकाले गढीमा जताततैबाट मानिसले प्रवेश गर्न सक्छन् ।

गढीको उत्तरतर्फ धनपाल मन्दिर रहेको छ । यस मन्दिरमा राजा धनपालले नियमित रूपमा पूजाआजा गर्ने गरेको बताइन्छ । जसलाई पछिल्लो समयमा नयाँ रङरोगनका साथ मर्मत गरिएको छ ।

धनपाल मन्दिरको आफ्नै विशेषता रहेको छ । धनपाल देवीलाई इच्छासिद्धि देवीको रूपमा पनि चिनिन्छ । जहाँ पूजा गर्न टाढाटाढाबाट पनि मानिसहरू आउने गर्छन् । गाउँमा कुनै नयाँ काम शुरु गर्नुभन्दा पहिले यहाँ आउने र कार्य सफलताको लागि प्रार्थना वा भाकल गर्ने चलन रहेको स्थानीय नारायण बस्नेत बताउँछन् ।

पछिल्लो समयमा यो गढी ‘धनपाल संरक्षण समिति’को मातहतमा रहेको छ । यसको रेखदेखका लागि भनेर एकजना मानिस राखिएको छ । यस गढीको पोखरीको र मन्दिरका साथै समग्र सफाइमा त्यति ध्यान दिएको पाइँदैन ।

गढीको प्रचारको लागि २०६४ सालमा धनपालगढी महोत्सव आयोजना भएको थियो । यस गढीमा प्रत्येक वर्ष वैशाख १० गते मेला लाग्दै आएको छ । यस गढीमा मङ्सिरदेखि चैत महिनासम्म मानिसको बढी आवतजावत हुने गर्छ ।

गढीमा पुग्ने जोकोहीले पनि बाटोको समस्या देखाउँछन् । बाटोको निर्माणमा नगरपालिकाले उचित ध्यान दिन सकेमा मात्र पनि यहाँ आउनेको संख्या बढ्ने स्थानीयको भनाइ छ ।

यस्ता ऐतिहासिक स्थलहरूको संरक्षणका लागि नगरपालिकाले कस्तो नीति अंगीकार गरेको छ भन्ने सवालमा बेलबारी– ५ का वडाध्यक्ष लोकबन्धु बस्नेत गढीको समग्र विकासका लागि गुरुयोजना बन्ने क्रममा रहेको बताउँछन् । नगरभित्र रहेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र संवद्र्धनमा नगरपालिका योजना नै बनाएर लागिरहेको उनी बताउँछन् ।