झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने बताएका छन् ।
झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उनले सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको र मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्ने बताए ।
रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए । सरकारले नेपाल र भारतसँगको नजिकको बन्दरगाहबाट पानीजहाज सञ्चालन गर्न लागेको बताउँदै कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको उल्लेख गरे ।
मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपना पनि पूरा भएको उनको भनाइ थियो । तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विसं २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गरेका थिए । ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५ सय ६० मिटर र चौडाइ ११ मिटर रहेको छ ।