खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आजदेखि आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ ।
अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर आज र भोलि उत्सव हुने भएको हो ।
महोत्सवका लागि जालपामा लाटोकोसेरो तथा हुचिल स्तम्भ निर्माण, उत्सवस्थल पुग्ने सिँढी, मञ्च निर्माण, विद्युत् व्यवस्थापनलगायतका काम पूरा भएको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एवं वडाध्यक्ष विकास राईले बताए ।
वडा कार्यालय र प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा आयोजना गरिएको उत्सवका लागि लोपोन्मुख बनेका सांस्कृतिक नृत्य, गीत, वाद्यवादन, लोपोन्मुख खेल प्रदर्शनको तयारी पूरा भइसकेको बताइएको छ ।
लाटोकोसेरो तथा हुचिल उत्सवस्थल जालपा पुग्नका लागि मध्यपहाडी लोकमार्गको हुलुङबाट जालपा पुग्ने सडक निर्माण, अस्थायी सङ्ग्रहालय निर्माण पनि सम्पन्न भएको जनाइएको छ । ‘किसानको साथी’का रूपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले जालपामा उक्त उत्सव आयोजना गरिएको बताइएको छ ।
उत्सवको पहिलो दिन लाटोकोसेरोसम्बन्धी लघुम्युजियम प्रदर्शनी, चरा अवलोकन, प्रकृतिको तस्बिर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रोलगायत स्थानीय लोपोन्मुख खेल प्रदर्शनी गरिने बताइएको छ । सोही दिन राति लाटोकोसेरोको महत्व दर्शाउने खालका श्रव्यदृश्य प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि ‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्य बताउँछन् । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो राखिने भएको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमूना, गहुँको छ्वाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरोसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । उत्सवमा ८ किसिमका लाटोकोसेरोको आवाज सुन्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।
















