झापाः झापाको बिर्तामोड नगरपालिका–२ का देवी घिमिरेको निधनपछि पुरानो मान्यता तोड्दै उनका ३ जना विवाहित छोरी बाबुको काजकिरियामा बसेका छन् ।

साबिक गरामनी गाविसका अध्यक्ष ६२ वर्षीय घिमिरेको मृत्युपछि ३ जना छोरी विञ्जु घिमिरे (लुइँटेल), इञ्जु घिमिरे (प्रसार्इं) र सञ्जु घिमिरे (सङ्ग्रौला) बाबुको काजकिरियामा बसेका हुन् ।

आमा चन्द्रकला घिमिरेसहित कोरो ढिकुरो गरेर नै उनीहरू बसेको बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले बताए ।

नेकपा बिर्तामोडका नगरअध्यक्ष ज्ञानुराम प्रसार्इंले पहिले अनिवार्य छोरा जन्माउनैपर्ने र उसैले मात्र आमाबुबाको काजकिरिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि अहिले त्यो हटेर गएको बताए । बुबाको दशगात्र काजकिरिया गरेर बसेकी माइली छोरी इञ्जुले बुबाको चाहनाअनुसार नै आफूहरूले बुबाको काजकिरिया गरिरहेको बताइन् ।