धरानः डा.गोविन्द केसीको अनसनमा समर्थन जनाउँदै डाक्टरहरू आन्दोलनमा उत्रिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा प्रभावित भएको छ ।
प्रतिष्ठानका जुनियर रेजिडेन्स डाक्टरले डा. केसीको अनसनमा ऐक्यबद्धता जनाउँदै काम छाडेपछि इमर्जेन्सी बाहेकको उपचार सेवा प्रभावित भएको हो । प्रतिष्ठानमा दैनिक ३ हजार बिरामी उपचार र स्वास्थ्य जाँचका लागि आउने गरेको तथ्याङ्क छ ।
शुक्रबार धनकुटाबाट डब्लर (नसाको भिडियो जाँच) का लागि आएका राजीव कार्कीले भने २२ दिन अगाडि आजको डेट दिएर डब्लर गर्न बोलाइएको थियो । प्रतिष्ठानमा सामान्य मात्र होइन शल्यक्रिया गर्न आउने बिरामी पनि फर्किएका छन् ।
सिनियर डाक्टरहरूले जुनियर डाक्टरहरू नभई बिरामी जाँच नगर्ने हुनाले बिरामीलाई सास्ती भएको प्रतिष्ठानकै कर्मचारी बताउँछन् । ‘डाक्टर केसीका माग जायज होलान् तर उनकै कारण हामीले दुःख पाउनु जायज भएन’, विराटनगरबाट आमाको आँखा उपचार गर्न आएका मोहन साहले भने ‘डाक्टरको आन्दोलन हाम्रो ज्यान भन्दा ठूलो हो ?’ प्रतिष्ठानका डाक्टरहरू गत आइतबारबाट नै आन्दोलनमा उत्रिएका थिए ।
शुक्रबारदेखि उनीहरूले बिरामीको उपचार गर्न छाडेका छन् । प्रतिष्ठानमा उपचार गर्न आउने बिरामी र उनीहरूका आफन्तले आन्दोलन गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने बताए । ‘माग सरकारसँग राख्ने हो, सरकारसँगको आन्दोलनमा हामीलाई दुःख दिन मिल्दैन’, धरान–१० का राकेश राईले भने ।
सरकारले डा. केसीका जायज मागलाई सम्बोधन नगरेको र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै डाक्टरहरू आकस्मिक सेवा बाहेकका सबै काम छाडेर आन्दोलनमा छन् ।