धनकुटाः पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले लोकतन्त्र स्थानीय तहसम्म नपुगेसम्म लोकतन्त्र एक व्यक्तिको वरीपरी घुमिरहने बताएका छन् ।

पुष्पलाल राजमार्ग हुँदै मेची काली यात्राको क्रममा धनकुटा आइपुगेका भट्टराईले यस्तो बताएका हुन् । जनताले आफूले सार्वभौम महसुस नगरेसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने उनले बताए । अहिलेसम्म अधिकार आफूमा निहित भएको कुरा जनताले नबुझेका कारण लोकतन्त्र व्यक्तिको वरीपरी घुमिरहेको उनले बताए ।

फरक प्रसङ्गमा बोल्दै भेनेजुएलाको विवादको बारेमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकाशित गरेको विज्ञप्तिप्रति उनले आपत्ति जनाए । नेपाल कुनै पनि कित्ताबन्दीमा लाग्न नहुने बताउँदै प्रचण्डको चरित्र कहिले लत्रक्कै लत्रने, कहिले आवेशमा आउने कारण त्यस्तो विज्ञप्ति निकालेको हुन सक्ने बताए ।

त्यस्तै, डा. केसीको अनसनका बारेमा सोधिएको प्रश्नमा नेपालमा स्वास्थ्य र शिक्षामा सुधार आवश्यक भएको चर्चा गर्दै दुवैले हठ त्याग्नुपर्ने उनले बताए । डा. केसीले पनि शतप्रतिशत माग पूरा गराउने हठ त्यागी क्रमशः पूरा गराउँदै लैजान दबाब दिनुपर्ने बताए । सरकारले पनि डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।