खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव शुक्रबार शुरु भएको छ ।

अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर प्रकृतिका साथीहरू नामक संस्था र वडा कार्यालयको सहकार्यमा दुई दिने उक्त उत्सव शुरु भएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हुचिलको स्तम्भको पर्दा खोलेर उत्सव उद्घाटन गरेका थिए ।

‘किसानको साथी’का रूपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमिका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले उत्सवको आयोजना गरिएको आयोजक मूल समितिका संयोजक एवम् वडाध्यक्ष विकास राईले बताए ।

उत्सवको पहिलो दिन चरा अवलोकनका साथै प्रकृतिको तस्बिर खिच्ने, लाटोकोसेरोसम्बन्धी लघु सङ्ग्रहालय प्रदर्शनी, प्रकृति तथा वन्यजन्तु संरक्षणसम्बन्धी विभिन्न अनुसन्धानकर्ताको प्रस्तुति प्रस्तुत गरिने बताइएको छ ।

लोपोन्मुख बाजा बिनायो, मुर्चुङ्गा, पिपिरी, बाँसुरी, एलम्बर बाजा, मादलसहितको संयुक्त वाद्यवादन, हाक्पारे गीत, लाखे नाच, रोपाइँ जात्रा, साकेला सिलीलगायतका लोक सांस्कृतिक नाच प्रदर्शनी गरिएको थियो ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारासहित शुरु सो उत्सवको दोस्रो दिन आज वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षणसम्बन्धी नाच, मारुनी, हिन्दु महिलाको संगिनी नाच, तामाङको डम्फु र सेलो, बालनका साथमा सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यसैबीच सो अवसरमा विगत दुई दशकदेखि पंक्षी अनुसन्धान र संरक्षणमा योगदान पु¥याएकामा कास्की माछापुच्छ«े गाउँपालिका धितालका रामजी गौतम र एक दशकदेखि सञ्चार माध्यमबाट वन्यजन्तु तथा प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान गरेकामा बर्दिया गुलरिया नगरपालिका बंगलामुखी मन्दिर टोलका यादव आचार्यलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको थियो ।