बेलबारीः पछिल्लो समय राजमार्गमा जङ्गली जनावरसमेत असुरक्षित हुँदै जान थालेका छन् । राजमार्गसँगै रहेका सामुदायिक तथा निजी वनमा पाइने जङ्गली जनावरहरू सवारीका साधनको ठक्करबाट दैनिकजसो मृत्यु हुने गरेको छ । राजमार्गका वनमा घेराबारा नगरिँदा तथा सवारीका साधनको गति यकिन नहुँदा जङ्गली जनावरहरूको मृत्यु हुने गरेको हो ।
घेराबार गरेका कारण अहिले जङ्गली जनावरको मृत्यु रोकिएको अमना सिसौली सामुदायिक वनका अध्यक्ष लीलप्रसाद आचार्यले बताए । बाटो ‘क्रस’ गर्ने क्रममा जङ्गली जनावरको सवारीसाधनको ठक्करबाट मृत्यु हुने गरेको उनले बताए ।
जनावरहरूको संरक्षणका लागि सवारी साधनका चालकहरूलाई बेलाबेलामा सवारी रोकेर सम्झाउने गरेको ट्राफिकका असई लीला श्रेष्ठले बताए । कानेपोखरी तथा पथरी क्षेत्रमा सवारीका साधनको ठक्करबाट धेरै जङ्गली जनावर मर्ने गरेको उनले बताए ।
यता, जिल्ला वन कार्यालय मोरङले जनावरहरूलाई संरक्षण गर्नका लागि सवारी चालकहरूसँग अन्तरक्रिया गर्ने तथा चेतनामूलक कार्यक्रम गर्ने गरेको बताएको छ । राजमार्गमा पर्ने वनहरूमा तारघेराबारा गर्न समेत वन उभोक्ता समूहलाई भनिसकिएको जिल्ला वन अधिकृत विशाल घिमिरेले बताए ।