इटहरी/ जथाभावी ठड्याइएका विभिन्न मोबाइल, रेडियो, टेलिभिजन र इन्टरनेटका टावरहरूले फाल्ने घातक रेडिएसनका कारण इटहरी क्यान्सरको हब बन्ने खतरा बढेको छ ।
मोबाइल, रेडियो, टेलिभिजन र इन्टरनेटका टावरले निकाल्ने रेडिएसनले चुरोट, खैनी र जाँडरक्सीले भन्दा धेरै स्वास्थ्यमा खतरा हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् । ती अध्ययनहरूले निकालेको निष्कर्षका आधारमा इटहरी क्यान्सर हब हुने जोखिम बढेको छ ।
विभिन्न टावरहरूले फाल्ने रेडिएसनका कारणले टावर भएको घरमा भन्दा छरछिमेकमा बढी असर गर्ने विज्ञहरू बताउँछन् । खासगरी रेडिएसनले रिंगटा लाग्ने, बोधोपनदेखि क्यान्सर सम्मका समस्या ल्याउने विज्ञको भनाइ छ ।
यस अर्थमा इटहरीमा बढ्दो मोबाइल, रेडियो, टेलिभिजन र इन्टरनेट टावरहरूका रेडिएसनले इटहरी नै क्यान्सर हब बन्ने जोखिम बढेको सरोकारवालाहरूले बताएका छन् ।
बस्तीको बीच भागमा र घरको छतमा वातावरणीय तथा मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने टावर जथाभावी ठड्याएको पाइन्छ । टावर राख्ने स्थानको बारेमा अध्ययन नगरी हचुवामा ठड्याइएका टावरहरूका कारणले जोखिम बढाएको देखिएको छ ।
कति छन् इटहरीमा रेडिएसन फाल्ने टावरहरू ?
इटहरीका विभिन्न २० वडामा ५ दर्जन हाराहारीमा रेडिएसस फाल्ने घातक टावरहरू रहेको पाइएको छ । एनसेलका कोशी क्षेत्रका टावर प्राविधिक प्रमुख विनोद यादवका अनुसार इटहरीमा २७ वटा एनसेल टावरहरू रहेका छन् । नेपाल टेलिकम स्रोतका अनुसार इटहरीमा विभिन्न २१ वटा सरकारी स्वामित्वका टेलिकम टावरहरू रहेका छन् ।
टेलिकमका सिडिएमए, वाइ म्याक्स तथा जिएसएम मोबाइलका प्रयोगकर्ताका लागि ती टावर ठड्याइएका हुन् ।
यस्तै, इटहरीमा विभिन्न रेडियोहरूका ५ वटा रेडिएसन फाल्ने टावरहरू रहेका छन् भने अन्य इन्टरनेटका ५–७ वटा टावरहरू रहेका छन् । यी सबै जोडेर इटहरीमा ६० हाराहारीका रेडिएसन फाल्ने टावरहरू रहेका छन् ।
यी हुन् रेडिएसन फाल्ने टावरले ल्याउने समस्याहरू
पछिल्लो समयमा मोबाइल फोन, रेडियो र इन्टरनेटका टावरहरूले फाल्ने घातक रेडिएसनले जनस्वास्थ्य, वातावरण र पशुस्वास्थयमा समेत असर पर्ने विभिन्न रिपोर्टहरू आएका छन् । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले यस्तो देखाएका हुन् ।
यिनै अध्ययनका कारणले युरोप अमेरिकातिर यस्ता टावरहरू राख्नु अगाडि स्थानीयको सहमति र वातावरणीय तथा जनस्वास्थ्यमा पर्ने असरको अध्ययन हुन्छ । तर, नेपालमा भने घरधनीले भाडामा स्वीकृति दिनासाथ मोबाइल, रेडियो तथा इन्टरनेटका टावरहरू राख्न सहजै पाइन्छ । तर, यसरी राखिएका टावरहरूले फाल्ने रेडिएसनका कारणले जनस्वास्थ्य, पशुपंक्षी र वातावरणमा ठूलो असर पर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
भारतको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको एक अनलाइन सामग्रीले टावरहरूको रेडिएसनका कारणले अनिद्रा, डिप्रेसन, पुरुषको प्रजनन क्षमतामा कमीदेखि क्यान्सरसम्म हुने बताएको छ ।
पिआइबि डट एनआइसी डट आइएनमा इन्डियन मेडिकल काउन्सिलका विभिन्न अनुसन्धानहरूलाई आधार मानेर यस्तो रिपोर्ट राखिएको छ ।
भारतीय प्रेस इन्फरमेसन ब्युरोले मात्रै होइन क्यान्सरसम्बन्धी काम गर्ने संस्था अमेरिकन क्यान्सर सोसाइटीले पनि सोही कुरा गरेको छ ।
क्यान्सर डट ओआरजी नामक आफ्नो अनलाइन संस्करणमा उक्त सोसाइटीले विभिन्न टावरका रेडिएसनले क्यान्सरसम्म हुने लेखेको छ । यस्तै, वातावरणको प्रदुषण रोकथाम गर्न काम गरिरहेको इन्भारमेन्टर पोलुसन डट आइएन नामक एक भारतीय पोर्टलले पनि रेडिएसन निकाल्ने टावरले विभिन्न असरहरू गर्ने बुँदागत रूपमा लेखेको छ ।
रेडिएसन प्रदुषणका ७ मुख्य समस्या शीर्षकमा रहेर सो पोर्टलमा सुप्रिया केले विस्तृत रूपमा लेखेकी छिन् । उनले टावरको रेडिएसन प्रदुषणका ७ बुँदागत असर लेख्दै विभिन्न अध्ययनहरूलाई उद्धृत गरेर रेडिएसनले मानवदेखि वातावरण सम्ममा असर गर्ने उल्लेख गरेकी छिन् ।