बेलबारीः सिमसार प्रवद्र्धन तथा संरक्षण समितिको आयोजनामा आज मोरङको बेलबारीमा विविध कार्यक्रम गरेर २३ औँ विश्व सिमसार दिवस मनाइएको छ ।
बेलबारी नगरपालिकामा रहेको बेतना सिमसारको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभाका सांसद राजकुमार ओझाले गरेका थिए ।
सो कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालय मोरङका डिभिजनल वन अधिकृत विशाल घिमिरे, सब डिभिजन कार्यालय बेलबारीका वन अधिकृत शत्रुघ्नलाल यादव उपस्थित थिए । फेकोफोनका उपाध्यक्ष रामकृष्ण राई, वातावरणविद् रामचन्द्र अधिकारीलगायतको कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओझाले वातावरण र मानवबीचको अनोन्याश्रित सम्बन्धको वारेमा बताउँदै सिमसार संरक्षणमा सबै लाग्नुपर्ने बताए ।
उनले भौतिक पूर्वाधारका कारणले सिमसार क्षेत्र सङ्कटमा पर्ने हुनाले त्यसको आसपासमा भौतिक संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
जिल्ला डिभिजनल वन कार्यालयका डिभिजनल वन अधिकृत विशाल घिमिरेले मानव जीवन र सिमसारको महत्वको बारेमा प्रष्ट पार्दै सिमसारको दिगो विकासका लागि लागि पर्नुपर्ने कुरामा जोड दिएका थिए ।
फेकोफोनका मोरङ उपाध्यक्ष राईले मानव बस्ती बिस्तारका कारणले सिमसार अतिक्रमण भएकाले सम्बन्धित निकायको यसतर्फ आँखा पुग्नुपर्ने बताए । वातावरणविद् रामचन्द्र अधिकारीले सिमसारको महत्वको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम शुरु हुनुभन्दा अघि बेलबारीबाट बेतना सिमसारसम्म र्यालीको आयोजना गरिएको थियो । र्यालीमा जिल्लाभरका १९ वटा सिमसार तथा पर्यटकीय क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।