विराटनगरः मोरङको जहदा गाउँपालिका–१ धुनीस्थित जनता बाल आधारभूत विद्यालयमा समयमै नआउने शिक्षकमाथि विद्यार्थी गेटमै बसेरै निगरानी गर्दै आएका छन् ।

शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरेका विद्यार्थीले शिक्षकलाई अनुशासन सिकाउँछन् र पढाउन लगाउँछन् । शिक्षकले समेत अभिभावकसहितको उपस्थितिमा बनेको नियम मान्नुपर्ने बाध्यता ठान्दै आएका छन् ।

विद्यालय परिसरमा शिक्षक र विद्यार्थीलाई समान अनुशासनको नियम हुनुपर्ने विद्यार्थी ज्योति केवटको भनाइ छ । ३ महिना अगाडिदेखि ढिलो आउने शिक्षकलाई विद्यार्थीले निगरानी गर्न थालेका हुन् । यो नियम लागू भएसँगै हालसम्म ३ जना शिक्षकसहित धेरै विद्यार्थी कारवाहीमा परेर विद्यालयको गेटबाटै घर फर्किएका छन् ।

पढाइमा अझै सुधार खोज्नका लागि अभिभावकको सुझावअनुसार विद्यार्थीले शिक्षकको निगरानी र शिक्षकले विद्यार्थीको निगरानीमा कडाइ गरेका हुन् । गाउँपालिकाले ३ महिना अगाडिदेखि मोबाइल एप्समार्फत् विद्युतीय हाजिरी लागू गरेको छ । त्यसपछि विद्यार्थीले समेत शिक्षाको गुणस्तर सुधारका लागि भन्दै शिक्षकको निगरानी थालेका हुन् ।

कार्यालय समयमा विद्यालय परिसर नआउने शिक्षक र विद्यार्थीले घर फर्कनुबाहेक अर्को विकल्प छैन । दैनिक शैक्षिक कार्ययोजनाका आधारमा शिक्षक कक्षाकोठामा नपुगे पनि विद्यार्थीले प्रश्न उठाउँदै आएका छन् ।

सीमान्तकृत दलित समुदायका विद्यार्थी अध्ययनरत विद्यालयमा ३ सय ६५ विद्यार्थी छन् । जिल्लाकै नमूना विद्यालयको रूपमा २०६६ सालमा घोषणा भएको जनता बाल अहिले गाउँपालिकास्तरमा उत्कृष्ट विद्यालयमा पर्दछ । विद्यालयमा अध्ययनरतमध्ये २ सय ५८ जना विद्यार्थी सरबरिया जातिका छन् ।

विद्यालय परिसर सफा र सुन्दर छ । ५ जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा निजी स्रोतका २ जनासहित ७ जना शिक्षक क्रियाशील रहेको प्रधानाध्यापक वीरेन्द्रकुमार मण्डलले बताए । दरबन्दीका आधारमा शिक्षक भए पनि कक्षा ८ सम्म अध्यापन गराउन विज्ञान र कम्प्युटर शिक्षकको आवश्यकता रहेको उनले बताए ।

अभिभावक पर्शुराम सरबरियाले विद्यालयको भौतिक अवस्था राम्रो भए पनि गुणस्तरीय शिक्षाका लागि शिक्षकको अभाव रहेको बताए । आफ्ना बालबालिकालाई अङ्ग्रेजी माध्यममा अध्यापन गराउन सक्ने शिक्षक विद्यालयका लागि आवश्यक रहेको उनले बताए ।

भौतिक सुविधाले सम्पन्न विद्यालयमा आवश्यक पर्ने स्वच्छ पानीको व्यवस्था हुनुका साथै पुस्तकालय रहेको छ । ७ वटा कम्प्युटरसहितको ल्याब, वाचनालय, शैक्षिक सङ्ग्रहालय पनि रहेको छ ।

student 1