विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनबाटै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताएका छन् । आज मुख्यमन्त्रीको कार्यालय विराटनगरमा पत्रकार सम्मेलन राख्दै मन्त्री राईले आजैदेखि शुरु हुन लागेको संसद बैठकबारे जानकारी दिएका हुन् ।

उनले मूल मुद्दाले अन्तिम रूप ग्रहण गर्नेसमेत स्पष्ट पारे । प्रदेश १ मा नाम र राजधानीको मुद्दा पेचिलो बन्दै गएको छ भने यस अघिका बैठक यी मुद्दाका बारेमा टुङ्गोमा पुग्न सकेका छैनन् ।

यस अघि सहमतिमा राजधानी र नाम राख्ने बारे गहिरो छलफल भएको भन्दै सर्वदलीय छलफललाई नै आफूले जोड दिने राईले बताए । सहमति जुट्न नसके विषय टुङ्ग्याउन प्रक्रियामा जाने र यसलाई अनर्थ सोच्न नहुने तर्क उनको छ ।

मन्त्रिमण्डल बिस्तार हुने
उनले मन्त्रिमण्डलले समेत बिस्तार हुने बताए । पहिलो चरणमा ७ या ११ सदस्यीय मन्त्री मण्डल हुने जानकारी दिएका हुन् ।
प्रदेशको नामङ्कनको विषयमा दलका शीर्ष नेताबीच काठमाण्डौमा सहमति भएको भन्ने बारेमा पत्रकारको जिज्ञासामा उनले आफुलाई यसबारेमा कुनै जानकारी नआएकोसमेत बताए ।

यही हिउँदे अधिवेशनबाट संसदीय समितिले समेत पूर्णता पाउने उनले जानकारी दिए । आजदेखि प्रदेश १ को हिउँदे अधिवेशन शुरु हुँदैछ । यसअघिका संसद बैठकले टुङ्ग्याउन बाँकी रहेका मूल मुद्दाले प्रवेश पाउने हुँदा यसलाई महत्वका साथ हेरिएको छ ।

बैठक ३ बजेदेखि बस्ने कार्यातालिका रहेको पदेश १ संसद सचिवालयले जानकारी दिएको छ ।