विराटनगरः नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको जीपी फाउण्डेसनको अमेरिका र जापानमा शाखा बिस्तार भएको छ ।

काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गरेको फाउण्डेसनलाई अमेरिका र जापानमा बिस्तार गरिएको बताइएको छ ।
मुलुक र मुलुकबाहिर शाखा बिस्तार गर्ने क्रममा फाउण्डेसनले अमेरिकामा सोमनाथ घिमिरे र जापानमा कुमार कार्कीलाई संयोजक तोकेको छ ।

दुवै जनालाई १ महिनाभित्रमा अमेरिका र जापानमा प्रजातन्त्र र समाजसेवामा रुचि राख्ने व्यक्तिलाई समावेश गरेर शाखालाई पूर्णता दिने गरी नियुक्त गरिएको प्रदेश १ की संयोजक इन्दिरा थापाले बताइन् ।

फाउण्डेशनमा क्रियाशील एवं नेपाल तरुण दलका युवा नेता डिकेन्द्र राउतका अनुसार देशभित्र र बाहिर फाउण्डेशनको शाखा बिस्तारका लागि प्रक्रियामा रहेको समेत उनले बताइन् । प्रदेश १ का १४ वटै जिल्लामा फाउण्डेसनको शाखा बिस्तार गरिसकिएको बताइएको छ ।