विराटनगरः प्रदेश नम्बर १ को प्रदेश सभामा अडियोभिडियो सुविधासहितको मिडिया सेन्टरको स्थापना गरिएको छ ।
हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पारेर अडियोभिडियो गतिविधिसहितको जानकारी दिने मिडिया सेन्टर शुरु गरिएको हो ।
प्रदेश सभा हल बाहिर नै बसेर सञ्चारकर्मीलाई समाचार सङ्कलन गर्न सहयोग हुने उद्देश्यले सेन्टरको स्थापना गरिएको प्रदेश सभाका निमित्त सचिव अम्बिकाप्रसाद चौलागाईंले बताए ।
‘सभाहल अलि सानो पनि छ कहिलेकाहीँ सञ्चारकर्मीलाई समाचार सङ्कलन गर्न समेत अफ्ट्यारो भयो’, चौलागाईंले भने, ‘संसदीय गतिविधि जनताको बीचमा ल्याउन पनि मिडिया सेन्टरको आवश्यकता भयो ।
प्रदेशसभाको गतिविधि जानकारी दिन तत्काललाई एउटा क्यामेरामार्फत् संसदको गतिविधि बाहिर ल्याउन खोजिएको छ । सेन्टरको स्थापना गरी एउटा एलईडी टिभी राखेर अडियोभिडियो सभा भवन बाहिरबाटै पत्रकारलाई देखाउने प्रबन्ध गरिएको छ ।