विराटनगरः प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशनसँगै नाम र राजधानीको विषयलाई लिएर आन्दोलन पनि शुरु भएको छ । आइतबारदेखि शुरु भएको हिउँदे अधिवेशनसँगै नाम र राजधानीको सवालमा सदन बाहिर आन्दोलन शुरु भएको हो ।
आइतबार विराटनगरमा हिउँदे प्रदेश बैठक बस्दै गर्दा धनकुटा र विराटनगरमा आन्दोलन भएको हो । धनकुटामा स्थायी राजधानीको माग राख्दै र विराटनगरमा प्रदेशको नाम लिम्बुवान हुनुपर्ने माग राख्दै आन्दोलन शुरु भएको छ ।
आइतबारबाट शुरु भएको हिउँदे अधिवेशनले नै प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाउने सरकारको भनाइ छ । प्रदेश सभाले राजधानी र नाम टुङ्गो लगाउने तयारी भएकाले धनकुटा र विराटनगरमा राजधानी र नामको मागलाई लिएर आन्दोलन शुरु भएको हो ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले लिम्बुवान नाम हुनुपर्ने माग गर्दै प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गरेको छ । झापा, मोरङ र सुनसरीलगायतका ठाउँबाट भेला भएका लिम्बुवान कार्यकर्ताले प्रदेश सभा सचिवालय अगाडि आन्दोलन गरेका थिए ।
यता, धनकुटावासीले भने राजधानीको माग राख्दै धनकुटामा प्रदर्शन शुरु गरेका हुन् ।
आइतबार हिउँदे अधिवेशनको प्रारम्भमा बोल्दै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक्ली प्रदेश सभा सदस्य विष्णुमाया तुम्बाहाम्फेले पनि लिम्बुवान नाम हुनुपर्ने धारणा व्यक्त गरेकी थिइन् । ऐतिहासिक सन्धि सम्झौताका आधारमा पनि लिम्बुवान नै नाम हुनुपर्ने भन्दै उनले सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।