धरान: धरानमा प्रदेश १ स्तरीय एसईई आइडल हुने भएको छ ।आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सो जानकारी दिएको हो । यस वर्षदेखि ‘एसईई स्टेट १ आइडल’ प्रतियोगिता आयोजना गर्न लागिएको फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्वरकुमार तुम्बापोले जानकारी दिए । एफटिएल अनलाइन टिभीको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
‘हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ । त्यो क्षमता वा प्रतिभा प्रदर्शनका लागि उनीहरूले उचित अवसर पाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
प्रतियोगितामा विजेताले नगद ५० हजारसहित एउटा गीत रेकर्ड, म्युजिक भिडियोमा खेल्ने अवसर, विभिन्न गिफ्ट ह्याम्पर साथै प्लस टु पढ्ने अवसर पाउनेछन् भने फस्ट रनरअपले ३० हजार, विभिन्न गिफ्ट ह्याम्पर, सेकेण्ड रनर अपले विभिन्न गिफ्ट ह्याम्पर २० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने प्रचारप्रसार संयोजक जगत नेम्वाङले जानकारी दिए ।
प्रतियोगितामा भर्खरै एसईई दिएर बसेका छात्रछात्राहरूले भाग लिन पाउनेछन् । प्रदेश १ का १४ जिल्लामा अडिसनहरू हुने आयोजकले जनाएको छ । अडिसन यही चैत तेस्रो हप्तादेखि ओखलढुंगाबाट शुरु हुनेछ ।
अडिसनमा सहभागी हुन इच्छुक प्रतिभाहरूले ३ सय तिरेर फर्म भर्न सक्नेछन् । कार्यक्रम सम्पन्न गर्न तुम्वापो अध्यक्ष, प राजेश विद्रोही कार्यक्रम निर्देशक, जगत नेम्वाङ,शेखरनाथ जोगी प्रचारप्रसार संयोजक, तिर्थ कार्की कार्यक्रम व्यवस्थापक, जगत राना मगर प्रविधि निर्देशक, सुमन बांस्कोटा पब्लिक रिलेसन अफिसर, अनिला क्षत्री प्रोग्राम कोअर्डिनेटर, महिमा आङदेम्वे, सोसल मिडिया मार्केटिङ रहेका छन् ।
यस्तै, मिडिया पार्टनरमा प्रदेश पोर्टल डटकम ,हाम्रो कोशी आवाज डटकम, ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक, रहेका छन् ।