पथरीः ग्रील व्यवसायीहरूलाई एकत्रित गरी ग्रीलग्रामको रूपमा विकास गर्दै लैजानुपर्ने आजको आवश्यकता रहेको महासङ्घका केन्द्रीय अध्यक्ष मोहन कटुवालले बताएका छन् ।

मोरङको सुनवर्षी नगरपालिकामा भएको ग्रील तथा स्टिल व्यवसायी नगर ईकाई समितिको पहिलो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कटुवालले देश सङ्घीयतामा गएसँगै राजनीतिक मुद्दाको लगभग अन्त्य भइसकेको अवस्थामा अब ग्रील तथा स्टिल व्यवसायलाई राष्ट्रिय नीतिमार्फत् ग्रीलग्रामको रूपमा विकास गर्नुपर्ने बताए ।

ग्रील व्यवसाय सञ्चालनको लागि विगतमा पर्याप्त विद्युतको व्यवस्था नभए पनि हाल सुधार आएको उनले बताए । व्यवसाय सञ्चालनको लागि उचित वातावरणको सिर्जना नहुनु अहिलेको समस्याका रूपमा रहेको उनले बताए ।

तीनै तहका सरकारसँग समन्वय गरी भविष्यमा ग्रीलग्रामको व्यवस्थापन गर्ने योजनामा केन्द्रीय महासङ्घ रहेको कटुवालले बताए ।

सुनवर्षी नगर इकाइमा महेन्द्र गुरागाईं

शनिबार भएको ग्रील तथा स्टिल व्यवसायीको पहिलो साधारणसभाले महेन्द्र गुरागाईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै, समितिको उपाध्यक्षमा भगवानप्रसाद साह, सचिवमा राधेश्याम राजवंशी, सह–सचिवमा कृष्ण शर्मा र कोषाध्यक्षमा बासुदेव राजवंशी चयन भएका छन् ।

सदस्यहरूमा अनिल पराजुली, श्रवणकुमार राजवंशी, कृपानन्द यादव, छत्र लिम्बू, कादिर हुसेन (मौसम) र फेकराज मण्डल चयन भएका छन् ।

सभामा पूर्वी दक्षिणी मोरङमा रहेका ग्रील तथा स्टिल व्यवसायीले भोग्नु परेका समस्यामा स्थानीय सरकार गम्भीर नभएको बताएका थिए । सभामा दक्षिणी भेगका ३ पालिकाका व्यवसायीहरू सङ्गठित भएका छन् । ग्रील तथा स्टिल व्यवसायलाई सङ्गठित तथा एकरूपता गर्ने उद्देश्यका साथ समिती गठन गर्दै अगाडि बढेको व्यवसायी शिवनारायण राजवंशीले बताए ।

नवगठित समितिलाई प्रदेश सभासद शिवनारायण सिंह, नेपाल ग्रील तथा स्टिल व्यवसायी महासङ्घ केन्द्रीय समितिका अध्यक्ष मोहन कटुवाल, सदस्य दिनेश पौडेल, सुनवर्षी नगरप्रमुख कालीप्रसाद दास, उपप्रमुख मञ्जु राईलगायतले शुभकामना दिएका थिए ।

grill  (2)