विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिकाले सडक सीमा क्षेत्रभित्रका रुख कटान तथा बिक्री गरेको विषयमा अख्तियारले छानबिन शुरु गरेको छ ।
कानुनविपरीत स्थानीय तहले सङ्घीय सरकार मातहत रहेको महेन्द्र राजमार्गको बुढी खोलादेखि खोर्सानेसम्मको सडकमा ठाउँठाउँका रुख कटान गरेको विषय बाहिर आएपछि अख्तियारले छानबिन थालेको हो ।

डिभिजन सडक विराटनगरका प्रमुख शुभराज न्यौपानेका अनुसार रुख काट्न मिल्ने वा नमिल्ने र काट्नुपर्ने अवस्थामा कस्तो प्रक्रिया पूरा गर्नुपर्ने हो भन्ने प्रतिवेदन तत्काल बुझाउन भनिएको छ । सडक सम्पत्तिको विषयमा डिभिजन सडक र कार्यान्वयन गर्ने इकाइसमेत रहेको डिभिजन वन कार्यालय मोरङसँग छुट्टा–छुट्टा प्रतिवेदन माग गर्दै अख्तियारले पत्राचार गरेको छ ।

स्थानीय तहले सङ्घीय सडकको सीमा क्षेत्रभित्रका रुख कटान गरेर बिक्री गरेपछि कानुनविपरीत काम गरेको ठहर गरिएको विषयमा जिल्ला प्रशासन कार्यालय मोरङले समेत सुन्दरहरैंचा नगरपालिकासँग जानकारी मागेको छ ।

नगरपालिका क्षेत्रमा पर्ने बुढी खोलादेखि खोर्सानेसम्मको सडक खण्डका ७५ रुख कटान गरेर बिक्री भएको विषयमा प्रमुख ढकालले कानुनी प्रक्रिया बारेमा जानकारी नभएकाले कमजोरी भएको बताएका छन् । उपभोक्ता समितिमार्फत् गरिएको काममा कमजोरी भएको भन्दै प्रमुख ढकाल पन्छिन खोजेको भन्दै विरोध समेत शुरु भएको छ ।

प्रक्रिया अनुसार रुख कटान गर्नुपर्ने अवस्थामा डिभिजन सडक कार्यालयले विभागमा जानकारी पठाउने र विभागले स्वीकृति प्रदान गरेपछि डिभिजन वन कार्यालयले छपान हान्नुपर्ने हुन्छ । छपान गरिसकेका रुखहरु कटान गरे पनि सडकले प्रक्रिया अनुसार लिलामी गर्ने र राजस्व बाँध्नुपर्ने हुन्छ । तर, सुन्दरहरैंचा नगरपालिकाले रातारात रुख काटेर बिक्री गरेपछि अख्तियारको क्षेत्रीय इकाई कार्यालय इटहरीले अनुसन्धान थालेको हो ।