धनकुटाः वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध गर्दै नेपाली काङ्ग्रेस धनकुटाले सरकारको विरोधमा आज सदरमुकाममा प्रदर्शन गरेको छ ।

केन्द्रको निर्देशन अनुसार धनकुटामा पनि प्रदर्शन गरिएको हो । नेपाली काङ्ग्रेसको पार्टी कार्यालय भीमनारायण स्मृति भवनबाट शुरु भएको विरोध र्यालीले बजार परिक्रमा गरेको थियो । सरकारविरोधी नारा लगाउँदै जुलुसले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि सो र्याली बसपार्कमा आएर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस धनकुटाका उपसभापति नवीनकिशोर शाक्यले वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध काङ्ग्रेसले जारी राख्ने बताए । नेपाली काङ्ग्रेस धनकुटा सचिव विजयसन्तोषी राईले सरकारको १ वर्ष निराशामा बितेको भन्दै आधारभूत आवश्यकता पूरा गर्न भन्दा पनि सरकारमा बसेका मन्त्री राज्यको सम्पत्ति दोहन गर्न लागेकाले नेपाली काङ्ग्रेस सडकमा आएको बताए । अब सरकारको दिनगन्ती समेत शुरु भएको उनको भनाइ थियो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका निवर्तमान केन्द्रीय अध्यक्ष एवम् केन्द्रीय प्रतिनिधि खिलानाथ दाहालले अहिले राज्यले नै आतङ्क सिर्जना गरेको बताउँदै भ्रष्टाचार, बलात्कारलगायतका घटना बढिरहँदा पनि सरकार संवेदनशील नभएको बताए ।

नेपाली काङ्ग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलले दुई तिहाईको दम्भ देखाएर जनविरोधी कार्य गर्ने छुट सरकारलाई नभएको बताए । विरोध र्यालीमा काङ्ग्रेसका विभिन्न तहका नेता कार्यकर्ता, लगायतको उपस्थिति रहेको थियो ।