फाइल तस्बिर
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षका रूपमा मनाइने ल्होसार पर्वले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताएका छन् ।
तामाङ समुदायको महान् पर्व सोनाम ल्होसार २०७५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री राईले नेपालका तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशीयालीस्वरूप विशेष उत्साह र उमङ्गका साथ मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रूपमा रहेको मुख्यमन्त्री राईले बताएका छन् ।