धरानः धरान उपमहानगरपालिकाले आफूलाई सफा, सुन्दर र स्वच्छ शहरको रूपमा चिनाउने नीति लिएको छ । उपमहानगरपालिकासँग जोडिएका प्रायः सबै ठाउँमा धरानलाई सरसफाइको नमूना भनेर उल्लेख गरिन्छ । तर, बिडम्बना उपमहानगरपालिकाको मध्य भागमा रहेको भानुचोकको सार्वजनिक शौचालयले भने धरानको बेइज्जत मात्र गरेको छैन, सर्वसाधारणको स्वास्थ्यमा समेत नराम्रो असर पारिरहेको छ ।
‘एक पटक धरानका मेयर र उपमेयरलाई यो शौचालय प्रयोग गर्न ल्याउनुपर्यो,’ चितवनको सौराहाबाट धरान घुम्न आएका अनिल गुरुङले भने, ‘यति सुन्दर शहरको बिचमा यस्तो गन्धे शौचालयले धरानको परिचय नै खराब हुन्छ ।’
त्यसो त उक्त शौचालय उपमहानगरपालिकाका कर्मचारी वा जनप्रतिनिधि कसैले पनि प्रयोग गर्दैनन् । ‘यो शौचालय यात्रुहरूले प्रयोग गर्छन्,’ यातायात मजदुर सुरज राई भन्छन्, ‘सायद जनप्रतिनिधि र कर्मचारीलाई यस बारेमा जानकारी पनि नहुन सक्छ ।’
सार्वजनिक शौचालयमा सरसफाइको कमी हुनुका साथै शौचालय दुर्गन्धित त छ नै अर्को महत्वपूर्ण कुरा के हो भने त्यहाँ जम्मा भएको दिसापिसाब पनि दिउँसो निकालिने गर्नाले झनै दुर्गन्ध फैलिएको स्थानीय व्यवसायीले गुनासो गरेका छन् । दैनिक हजारौँ यात्रुको ओहोरदोहोर हुने भानुचोकको यो शौचालयको हालत यस्तो बन्दै गएपछि गुनासो बढेको हो ।
‘यात्रुहरू यहाँ चिया–खाजा खाइरहेका हुन्छन् । उता शौचालय सफाइको नाममा दिउँसै दिसापिसाब निकालिन्छ, राति निकाल्दा हुँदैन र,’ स्थानीय फास्टफुड व्यवसायीले भने, ‘शौचालय मर्मत सम्भारमा ध्यान नदिइँदा दिसापिसाबले धेरै च्यापे पनि जानेबुझेका त हत्तपत्त त्यो शौचालय पस्दैनन् ।’
नमूना शौचालय कथा मात्रै
यसअघि पनि सार्वजनिक शौचालयलाई आधुनिक र सुविधायुक्त बनाउने कुरा उठेको थियो । उपमहानगरपालिकाले यसको नक्सा समेत तयार पारेको थियो । तर अहिलेसम्म उक्त काम अघि बढ्न सकेको छैन ।
स्थानीयहरूले राम्रो शौचालय बनोस् भनेर यसअघि पटक–पटक ज्ञापनपत्र पनि बुझाइसकेका छन् । तर उपमहानगरले यसतर्फ चासो देखाएको छैन ।
केही वर्षअघि स्थानीयले नै त्यहाँ ताला लगाइदिएका थिए । तर पछि उपमहानगरपालिकाका प्रमुखहरू आई सुधार गर्ने आश्वासनका साथ पुनः सुचारु भएको थियो । अहिलेको शौचालय करिब ३५ लाखको लागतमा निर्माण भएको हो । तर शौचालय सुध्रनुुको सट्टा झन् बिग्रँदो छ ।
शौचालयको बाहिर पिसाब फेरेको शुल्क ५ र दिसा गरेको १० रुपैयाँ भनेर सूचना राखिएको छ । तर पनि सार्वजनिक शौचालयको अवस्था फेरिएको छैन । धरान–२ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठ शौचालय मर्मत सम्भारका लागि बजेट छुट्टिइसकेको बताउँछन् । ‘बजेट छुट्टिइसकेको छ, । त्यही बजेटले सफा पार्नेछौं’, उनले भने ।
वार्षिक १५ लाख आम्दानी, कहाँ हुन्छ खर्च ?
भानुचोकको सार्वजनिक शौचालयबाट उपहानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्छ । उपमहानगरपालिकाले ठेक्का लगाएर पैसा उठाउँछ । तर शौचालयको सुधार भने गरेको देखिँदैन । ‘वार्षिक १ लाख रुपैयाँ लागनी गर्ने हो भने सार्वजनिक शौचालयलाई व्यवस्थित गर्न सकिन्छ,’ स्थानीय रामबहादुर श्रेष्ठ भन्छन्, ‘तर उपमहानगरलाई यसको मतलब छैन । यहाँबाट पैसा उठाएर अन्यत्र खर्च गरिन्छ ।’
धरान उपमहानगरपालिकाकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीले शौचालय ठेक्का प्रक्रियामा भएको हुँदा खर्च पनि उसैले गर्ने प्रतिक्रिया दिइन् । दिउँसो शौचालय गन्हाएर बसिनसक्नु भएको छ भन्ने जिज्ञासामा उनले सामान्य रूपमा भनिन्, ‘यो सामान्य कुरा हो, सरसफाइ भएकै छ ।’