झापाः झापाको भद्रपुरमा सोमबार सम्पन्न ट्राभल व्यवसायीको भेलाले गोपाल खनालको अध्यक्षतामा ट्राभल व्यवसायी सङ्घ भद्रपुर नगर समिति गठन गरेको छ ।

सङ्घका जिल्ला अध्यक्ष निरबहादुर कार्की ‘नेत्र’को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा रामचन्द्र अधिकारी र सचिवमा निर्मलकुमार राजवंशीलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी, सहसचिवमा राजेन्द्र तुलाधर र कोषाध्यक्षमा पार्वती तामाङलाई भेलाले आगामी ३ वर्षे कार्यकालका लागि सर्वसम्मत चयन गरेको छ ।

समितिको सदस्यमा विपिन भट्टराई, नरेशकुमार धमला, निर्मल सुवेदी, इम्ताज शेख, कुलप्रसाद भट्टराई, रमेश श्रेष्ठ, तोया गड्तौला र देवी मिश्र चयन भएका छन् ।

गोपाल खनालको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथि कार्कीले ट्राभल व्यवसाय पर्यटककै भरमा चल्ने भएकाले हरेक व्यवसायी पर्यटकमैत्री बन्न जरुरी रहेको बताए ।

कार्कीले पर्यटकसँग सम्मानजनक व्यवहार गरी उनीहरूसँग असल व्यवहार गर्नुपर्ने बताए । उनले प्रचारप्रसारको अभावका कारण ओझेलमा परेका स्थानीय पर्यटकीय एवम् धार्मिक स्थानको पहिचान गरी त्यसको विकास प्रवद्र्धनमा जुट्न हरेक व्यवसायीलाई आग्रह गर्दै स्थानीयदेखि सङ्घीय सरकारको ध्यानाकर्षण गराए । भेलामा उपाध्यक्ष अधिकारीले आगामी ६ गतेदेखि हुने महोत्सवमा हेलिकोप्टर सञ्चालन गरी अवलोकनकर्तालाई महोत्सवप्रति आकर्षण गर्ने बताए ।

भेलामा सङ्घका द्वितीय उपाध्यक्ष विजय सुवेदी, कोषाध्यक्ष पेमा तामाङ र सदस्य हस्तबहादुर तामाङको उपस्थिति रहेको थियो ।