इटहरीः २०१३ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालय इटहरीको अहिले एउटा मात्रै भवन छ । अब ५ वटा भवन हुनेछन् । हालका २४ वटा कोठा बढेर १ सय वटा हुनेछन् । सडकले छोएको विद्यालयको परिसर वरिपरी पक्की पर्खाल बन्नेछन् ।
विद्यालयको खेलमैदान आसापास हरियाली जोगाउने बोटबिरुवा लगाइने भएको छ । र, यो विद्यालय क्षेत्रफलका आधारमा मात्रै होइन सुन्दरता र लगानीका आधारमा पनि इटहरीको सबैभन्दा आकर्षक र भव्य विद्यालय हुनेछ ।
सुन्दा ‘होइन होला’ जस्तो लाग्ने इटहरी बजार क्षेत्रको जनता माध्यमिक विद्यालयमा यी सबै सुविधाको व्यवस्थापन आगामी ५ वर्षमा हुनेछ । यसको लागि नेपाल सरकारको शिक्षा विभागबाट ३९ करोड लगानी हुनेछ । लगानीको पहिलो किस्ता आउने प्रक्रिया शुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गाल बताउँछन् । उनी भन्छन्, ‘पहिलो चरणको डेढ करोड रकमको निकासाको काम हुँदैछ ।’
‘एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय’मा जनता मावि
जनता माध्यमिक विद्यालयमा यत्तिको लगानी आउनुमा एक निर्वाचन क्षेत्रमा एउटा नमुना सामुदायिक विद्यालय बनाउने सरकारी कार्यक्रमको कारणले भएको हो । जनता माध्यमिक विद्यालयले सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ का अन्य विद्यालय भन्दा राम्रो सूचक बनाएकाले यस्तो कार्यक्रम पाएको व्यवस्थापन समितिका अध्यक्ष दङ्गाल बताउँछन् ।
उनी भन्छन्, ‘इटहरी उपमहानगरमा मात्रै ३४ वटा सार्वजनिक विद्यालय छन् । यिनीहरूमा जनता मावि मात्रै हो यो कार्यक्रम पाउने विद्यालय ।’
इटहरी–९ मा रहेको सामुदायिक विद्यालय जनता माध्यमिक विद्यालयले आफूलाई परिवर्तन गर्ने भएको छ । विद्यालयको भौतिक संरचना, पठनपाठनदेखि प्रविधिसम्म धेरै परिवर्तन गर्न लागिएको विद्यालयले बताएको छ । साढे २ बिघा क्षेत्रफलमा फैलिएको जनता माविको कार्यक्रममा धेरै परिवर्तन गरिने विद्यालयले बताएको छ ।
अनिवार्य अङ्ग्रेजी माध्यमदेखि स्कुल बसको सुविधा थपिँदै
अनिवार्य अङ्ग्रेजी माध्यमदेखि, विद्यालय बस सञ्चालनदेखि लिएर विद्यालयलाई डिजिटल प्रविधिमा जोड्ने तयारी भएको व्यवस्थापन समितिका अध्यक्ष दङ्गाल बताउँछन् । दङ्गालका अनुसार आगामी शैक्षिक सत्रबाट नै अङ्ग्रेजीमा सबै कक्षामा पढाइ हुनेछ ।
आगामी शैक्षिक सत्रबाटै विद्यालयमा स्कुल बसको सुविधा हुने दङ्गाल बताउँछन् । आगामी शैक्षित्र सत्रको लागि अग्रिम भर्ना अभियान सञ्चालन गर्ने बताउँदै दङ्गाल भन्छन्, ‘माघ २७ मा पर्ने यो वर्षको सरस्वती पूजाबाटै भर्ना हुनेछ ।’
हाल १२ कक्षासम्म सञ्चालन भएको जनता माध्यमिक विद्यालयमा १ हजार ४ सय ६० विद्यार्थी छन् । नयाँ भर्नामा २ सय ४० विद्यार्थी आउने अनुमान गरिएको दङ्गालको अनुमान छ । नयाँ भर्नाको लागि आक्रामक प्रचार गर्दैछ जनता माध्यमिक विद्यालयले ।
२०१३ सालमा स्थापना भएको र इटहरी बजार क्षेत्रमै भएको जनता माध्यमिक विद्यालयमा पहिलोपटक यस्ता सुधार र सुविधा ल्याउन लागिएको हो । कम्प्युटर इञ्जिनियरसहितको कम्प्युटर ल्याब, योग कक्षाको व्यवस्था, गीतसङ्गीतदेखि अन्य खेलकुदका कार्यक्रम विद्यालयले ल्याउन लागेको छ ।
बाल कक्षादेखि १२ सम्म अनिवार्य अङ्ग्रेजीमा पठनपाठन, सिसी क्यामेरा, स्कुल बसदेखी डिजिटल प्रविधि उपयोग गर्ने नीति लिएपछि विद्यालयको चर्चा चुलिएको छ ।
३ वर्षे कार्यकालको लागि २०७५ असोज ६ गते विद्यालय व्यवस्थापन समितिमा आएका थिए दङ्गाल । दङ्गालले निजी स्कुलभन्दा पहिलो रोजाइको विद्यालय बनाउनलाई यस्तो गरिएको बताए ।