इटहरीः आज माघ २२ गते । नेपालको सङ्घीयता कार्यान्वयनको क्रममा प्रदेश १ को प्रदेश सभा बैठक बसेको ठीक १ वर्ष अगाडि आजकै दिनमा हो । प्रदेश सभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा आजकै दिन पहिलो प्रदेश सभाको बैठक भएको थियो । गत वर्षको माघ २९ मा सभामुख प्रदीप भण्डारी र फागुन ३ मा उपसभामुख सरस्वती पोखरेल सर्वसम्मत चुनिएपछि प्रदेशसभाले १ वर्ष पूरा गरेको छ । यसै परिप्रेक्ष्यमा आज प्रदेश पोर्टल डटकमले उपसभामुख सरस्वती पोखरेलसँग कुराकानी गरेको छ । सोही कुराकानीको सारांशः

आज प्रदेश १ को प्रदेशसभा बसेको ठीक १ वर्ष पूरा भएको छ । यस बीचमा २३ वटा विधेयकहरू बने । तर, नाम र राजधानीको टुङ्गो भने लागेन किन होला?
हामी प्रदेशसभा नियमावलीदेखि महत्वपूर्ण विधेयकहरूमा व्यस्त भयौँ । आफूले हिँड्ने बाटो आफँैले निर्माण गर्नुपर्ने स्थितिमा प्रदेश सरकार, प्रदेश सभा छ । त्यसकारणले गर्दा हो । हामीले बेवास्ता गरेको भने होइन ।

अहिले नामको लागि लिम्बुवान मञ्चले आन्दोलन गरिरहेको छ । स्थायी राजधानीको पनि टुङ्गो लागेको छैन । यी सबै कुरा कसरी टुङ्गो लगाउनुहुन्छ ?
विधिवत ढङ्गले हामीले प्रदेशसभामा नाम र राजधानीको विषय प्रवेश गराएका छैनौँ । बाहिर १ नम्बर प्रदेशमा विभिन्न ढङ्गले कुरा उठ्न सक्छन् । आन्दोलन हुन सक्छ । तर, प्रदेशसभामा हामीले नाम र राजधानीलाई विधिवत ढङ्गले प्रवेश गराउनै पाएका छैनौँ ।

यो हिउँदे अधिवेशनमा भने नाम र राजधानीको विषय टुङ्गो लाउनुपर्छ भनेर प्रदेशसभा र सरकारले होमवर्क गरेको छ । बाहिर राजधानीका लागि यो वा त्यो भन्ने कुरा छ । भित्र भने त्यस्तो छैन । प्रदेशसभा नियमावलीमा नाम र राजधानीको प्रस्तावना राख्नै छुटेछ । त्यसकारणले अब कुन विधिले नाम र राजधानीको विषय लाने भन्ने कुरा भइरहेको छ । यसको लागि प्रदेशसभा नियमावलीलाई संशोधन गरेर अगाडि लाने तयारी भइरहेको छ ।
संविधानको १८८ औं धारामा प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लाउने अधिकार दिएको छ । तर, नियमावलीमा भने प्रस्तावनाको कुरा नआएकाले प्राविधिक कठिनाइ भएको हो ।

mid  page add.PNG

तपाईंले चुनाव जितेर प्रदेशसभामा पु¥याएको पार्टी नेकपा प्रदेश १ मा दुई तिहाइ छ । नाम पहिचानको आधारमा राख्न प्रस्ताव आएको छ । स्थायी राजधानीको लागि विराटनगरसहित इटहरी, धरान, धनकुटा छन् । यी सबैलाई कसरी मिलाउनुहुन्छ ?
सभामुख, उपसभामुख भएपछि कुनै दलको हुँदैन । हामी निष्पक्ष हुन्छौँ र हुनुपर्छ । नाम र राजधानीको लागि पार्टीको धारणा हुँदोरहेनछ । धनकुटाका माननीयहरूले जुनसुकै पार्टीकाले धनकुटा भन्ने, इटहरीका माननीयले इटहरी भन्ने गरेको पाइएको छ । हामीले सर्वसम्मत ढङ्गले नाम र स्थायी राजधानी टुङ्गो लाउने सुझाव दिएका छौँ । मुख्यमन्त्रीले पनि पत्रकार सम्मेलनमा यही हिउँदे अधिवेशनबाट नाम र स्थायी राजधानीको टुङ्गो लगाउने बताउनुभएको छ ।

प्रदेशसभाको १ वर्ष पूरा गरेकोमा भएका महत्वपूर्ण काम केके हुन् ?
हामीले २३ वटा विधेयक पारित गरेका छौँ । बाहिर हेर्दा धेरै काम नभएको देखिए पनि भित्र हामी खटिरहेका छौँ । प्रतिपक्ष पनि रचनात्मक छ । बाहिर नाम र राजधानीको टुङ्गो नलाग्दा काम नभएको हो कि भन्ने देखिएको छ । त्यो पनि चाँडो यही अधिवेशनबाट हुँदैछ ।