इटहरी/ जगदम्बा अटोमोबाइल्सले टिभिएस कम्पनीको ८१ औं शोरुम मोरङको सुन्दरहरैंचामा सञ्चालनमा ल्याएको छ । टिभिएसको ८१ औं डिलरको रूपमा सुन्दरहरैंचाको विराटचोकमा मनकामना अटोमोबाइल सञ्चालनमा आएको हो ।
सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकालले शोरुमको उद्घाटन गरे । उद्घाटनको क्रममा बोल्दै ढकालले डिलर, कम्पनी र ग्राहकबीच समन्वय हुन सकेमा सबै व्यवसाय फस्टाउने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा गु्रपका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालले जगदम्बाले अटोमोबाइलको २० प्रतिशत बजार लिएको बताए ।
‘नेपालमा २० वर्षदेखि बिक्री भइरहेको टिभिएस १ सय ५ वर्ष पुरानो ब्रान्ड हो’ अग्रवालले भने, ‘भारतमा उत्पादन हुने टिभिएसका उत्पादन ७५ देशमा बिक्री हुन्छ ।’ नेपालका २६ जिल्लामा १ सय वटा सर्भिस सेन्टर रहेको अग्रवालले बताए ।
उद्योग वाणिज्य संघ कोशीहरैंचाका अध्यक्ष नवराज चापागाईंले पछिल्लो समय व्यवसायीको अवस्था धराशायी हुँदै गएकाले भूगोल र बजारको अवस्था हेरेर डिलरको लागि कम्पनीले मापदण्ड तोक्नुपर्ने बताए ।
विराटनगर र काठमाडौंको मापदण्ड सबैतिर लागू गर्दा व्यवसायी पलायन हुने खतरा रहेको उनले औँल्याए । सामान्य व्यवसायीले पनि व्यवसाय गर्ने वातावरण कम्पनीले सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
व्यवसायी ललित श्रेष्ठले विराटचोकलाई व्यावसायिक र व्यवस्थित बजार बनाउन स्तरीय अटोमोबाइलका शोरुमले भूमिका खेल्ने बताए ।
शोरुम उद्घाटनको अवसरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ८ जना ग्राहकलाई मेयर ढकाल, कम्पनीका प्रतिनिधि अग्रवाललगायतले चाबी तथा उपहार प्रदान गरेका थिए ।