धरानः साझा पहिचानका लागि किरात प्रदेशको माग गर्दै किरात राईहरुको संस्था किरात राई यायोख्खाको १० औ अधिबेशन धरानमा हुने भएको छ । यायोख्खा केन्द्रिय समितीले मङगलबार धरानमा पत्रकार सम्मेलन गरि पहिचानको आन्दोललाई समर्पित गर्दै १० औ अधिबेशन हुन लागेको किरात राई यायोख्खाका केन्द्रिय अध्यक्ष तिलक राईले जानकारी दिए ।
छैठौं अधिवेशनदेखि किरात राई यायोक्खाले आफ्नो पहिचानको माग जारी राखेको जनाएको छ । ‘छैठौं अधिवेशनदेखि नै हामीले पहिचानको मुद्दा लगातार उठायौं’, अध्यक्ष राईले भने, ‘अहिले पनि पहिचानको मुद्दा जारी छ ।’
१० औं अधिवेशनमा नारा नै ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नं. प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आह्वान ।’तय गरेको छ । किरात प्रदेशका लागि अन्य पहिचान पक्षधरहरूसँग पनि छलफल भइरहेको बताउँदै अध्यक्ष राईले प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने अडानमा रहेको बताए । उनले प्रदेशको नाममा पहिचान नजोडिए, कोशी, सगरमाथा जोडिए पहिचान पक्षधर आन्दोलनमा होमिने बताए ।
यायोख्खाले महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरू बनाइसकेको जानकारी दिएको छ । सघन बसोबासका हिसाबले पनि धरानमा नै महाधिवेशन गर्न लागिएको अध्यक्ष राईको भनाई छ ।
अधिवेशनमा देश विदेशबाट करिब एक हजार जना प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकको अनुमान छ । काठमाडौं, ललितपुर, झापा, मोरङ, सुनसरीदेखि ओखलढुंगा, पाँचथर, सप्तरी, सिरहा, बारा, पर्सासम्मका प्रतिनिधिहरूको अधिवेशनमा उपस्थिति रहने आयोजकले जनाएको छ । यस्तै, विदेशबाट बेलायत, हङकङ, दक्षिण कोरिया, दुबईबाट पनि घटीमा ५ जना प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउनेछन् । केन्द्रीय कार्य समितिको आयोजनामा हुन लागेको महाधिवेशनको सुनसरी जिल्ला कार्य समिति व्यवस्थापक रहनेछ ।
नेपालमा रहेको विभिन्न जातजाति एवं आदिवासी जनजातिहरूबीच सुमधुर सम्बन्ध र सद्भाव कायम गर्दै भातृत्वको विकास गरी एक आपसमा सहकार्य गरी राष्ट्रिय एकता तथा समृद्धिको लागि किरात राईहरूलाई सङ्गठित गर्ने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको अध्यक्ष राईले जानकारी दिए । अधिवेशनले तीन वर्षका लागि नयाँ पदाधिकारी पनि चयन हुनेछ । फागुन १५ गते मोटरसाइकल रयालीसहित भानुचोकमा १८ गते उद्घाटन सत्र हुनेछ । यस्तै धरान सभागृहमा बन्दसत्र रहनेछ ।