इटहरी/ मोरङको विराटचोकमा रहेको दयाराम अटो ट्रेडर्सले आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।

बिहीबार एक कार्यक्रमका बीच ट्रेडर्सको दोस्रो शाखा दीप अटो सेन्टर ग्रामथान गाउँपालिकाको नेताचोकमा सञ्चालनमा आएको हो ।

सो शाखाको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि ग्रामथान गाउँपालिकाकी उपप्रमुख फूलकुमारी चौधरीले गरिन् । उद्घाटनको अवसरमा बोल्दै चौधरीले नेताचोकलाई विकसित बजार बनाउन अटोमोबाइलका बिक्री केन्द्र सहयोगी हुने बताइन् ।

उद्घाटन कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका तथा ग्रामथान र बुढीगंगा गाउँपालिकाका जनप्रतिनिधि, व्यवसायी र सर्वसाधारणको उपस्थिति थियो ।

शाखा उद्घाटनको अवसरमा बिहीबार र शुक्रबार एक्सचेन्ज अफर र फ्रि सर्भिसिङको व्यवस्था गरिएको दीप अटो सेन्टरका प्रोप्राइटर दिलीपकुमार खवासले बताए । साथै ती दुई दिन मोटरसाइकल र स्कुटर खरिद गर्नेलाई विशेष छुटको पनि व्यवस्था गरिएको उनले जनाए ।

नेताचोक ग्रामीण क्षेत्रको उदाउँदो बजारको रूपमा रहेकाले शाखा सञ्चालनको लागि सो ठाउँलाई रोजेको दयाराम अटो ट्रेडर्सका प्रोप्राइटर दयाराम खवासले बताए ।