धरानः धरानमा तामाङ ल्होसार भव्यताका साथ मनाइएकोे छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर समितिले धरानमा २८५५ (फागु ल्हो सा खाम) औं सोनाम ल्होसार भव्यताका साथ मनाएको हो ।

धरान–८ सभागृह छेउमा पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमसँगै तामाङको संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरिएको हो ।

सो अवसरमा लामा गुरुहरूले ‘छेमार’ समेत गरेका थिए । विभिन्न बाधा अड्चनलाई फाल्दै जीवनमा सुख शान्ति मिलोस् भन्ने उद्देश्यले तामाङ समुदायमा छेमार गर्ने प्रचलन छ । उनीहरू तामाङ जातिको मौलिक राष्ट्रिय बाजा डम्फुको तालमा गीतसँगै रमाएका थिए । तामाङ सेलोमा रमाउँदै नृत्य गर्दा सबैले तालीले साथ दिए ।hotel gajur palace

अघिल्लो वर्षमा भएका नराम्रा कुराहरूलाई बिर्सदै अब आउने नयाँ वर्षहरूमा सबैलाई सुख शान्तिको कामनासहित यो पर्व मनाउने प्रचलन रहेको नेपाल तामाङ घेदुङका नगर अधयक्ष प्रेम वाइबा तामाङले जानकारी दिए । विशेषगरी मञ्जुश्री पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा घेदुङका केन्द्रीय वरिष्ठ सल्लाहकार सुजेन्द्र तामाङ, केन्द्रीय सदस्य मैतबहादुर तामाङ, प्रदेश नं. १ का उपाध्यक्ष रामबहादुर ग्याबा, आदिवासी जनजाति महासङ्घका धरान नगर अध्यक्ष सुवास हुक्पाचोङवाङ, सुरज पाख्रिन, समी लामा, उमा लामालगायत विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरूको कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा सङ्घका वरिष्ठ सल्लाहकार गोले, पनिता तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा धरान–८ का नन्दलाल पाख्रिन, धरान–१६ का जीतबहादुर पाख्रिन, धरान–१९ का चन्द्रबहादुर थिङ, धरान–८ का रामबहादुर योञ्जन, धरान–१९ का प्रतिभा पाख्रिन, जिल्ला डम्फु समूह र २ जना विद्यार्थीलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । यस्तै, रणमाया घिसिङ, छेतबहादुर तामाङ र राममाया तामाङलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।