विराटनगरः धनकुटाका विजय खड्कालाई श्रम अनुमती दिएर पहिलो पटक विराटनगरमा श्रम स्वीकृत गर्ने सेवाको प्रारम्भ भएको छ । काठमाण्डौ जानुपर्ने झञ्झटबाट मुक्त भएका सेवाग्राहीले आफुलाई ठुलो राहत भएको बताएका छन् ।
आज एक कार्यक्रमका बीच विराटनगरस्थित श्रम कार्यालयमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खड्कालाई कतारको लागि श्रम अनुमती दिएर औपचारिक रुपमा सेवा शुरु भएको जानकारी दिए ।
श्रम स्वीकृती लिए पश्चात उनले काठमाण्डै जाने झन्झटबाट मुक्त भएको र समय समेत बचत भएकाले खुशी भएको बताए । उनले यस अघि काठमाण्डौबाट श्रम स्वीकृति लिन अनेको झञ्झट पाउनुकासाथै ठुलो रकम समेत खर्च हुदै आएको बताए । ‘काठमाण्डौमा १८ घण्टा सम्म लाम लाग्नुपर्ने बाध्यता थियो ।‘ उनले भने– ‘आफ्नै गाउँबाट सेवा लिन पाउँदा राहत मिलेको अनुभुति भएको छ ।’
सेवा विकेन्द्रीत गर्दै सरकारले सातवटै प्रदेशबाट सेवा दिने गरी तयारी गरे अनुसार पुस १५ गतेबाट विराटनगरबाट बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने तयारी गरेको थियो । तर कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलको सरुवा र निमित्त प्रमुख मणिनाथ गोपको सरुवाका कारणले श्रम स्वीकृतिको काम अनिश्चित बनेको थियो ।
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले देशमै राजगारीको अबस्था सिर्जना नगर्दासम्म बैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्न नसकिने बताए । उनले एक नम्बर प्रदेशले युवा लक्षित कार्यक्रम अन्तरगत ९ हजार युवालाई रोजगारमुलक तालिम दिने तयारी गरिएको जानकारी दिए । अहिलेको अबस्थामा बैदेशिक रोजगारीमा जानको लागि प्रदेशबाट आफ्नै ठाउँ र क्षेत्रबाट श्रम स्वीकृती दिन थाल्नु सकारात्मक भएपनि बैदेशिक रोजगारीमा जाने क्रमलाई रोकेर देशमै रोजगारीको अबसर सिर्जना गर्न तर्फ लाग्नु पर्नेमा जोड दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले लामो समयदेखि केन्द्रीकृत रुपमा वितरण हुँदै आएको श्रम स्वीकृति विराटनगरबाट नै वितरण हुनुले आम सेवाग्राहीलाई सहज हुने बताए ।
श्रम कार्यालय विराटनगरकी निमित प्रमुख सविता दाहालले केही महिना अघि देखि नै शुरु हुनु पर्ने श्रम स्वीकृतिको काम कारण बस ढिला भएको बताइन् ।