इलाम: इलाम नगरपालिकाले पेट्रोलियम पर्दाथमा प्रति लिटरमा लिँदै आएको ५० पैसा प्रदुषण कर आगामी फागुन १ गतेबाट नलिने भएको छ । वातावरण प्रदुषण नियन्त्रण करको रुपमा लिँदै आएको अतिरिक्त ५० पैसा लिने निर्णय फिर्ता भएको नगर प्रमुख महेश बस्नेतले बताए ।

सवै स्थानिय तहले प्रदुषण नियन्त्रणका लागि कर संकलन गर्न पाउने व्यवस्था भएपनि हाल लिन नपाइने निर्णय भएपछि नगरले प्रदुषण नियन्त्रण करको प्रावधान हटाइएको बस्नेतले बताए । गत असार ३१ गते नगरपालिकाले प्रदुषण नियन्त्रणका लागि भन्दै इन्धनमा प्रतिलिटर ५० पैसा कर लिने निर्णय गरेको थियो । निर्णयपछि गत भदौ ७ गतेबाट कर लिन सुरु गरिएको थियो ।

mid  page add.PNG 1

नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर इन्धनमा एक रुपैयाँ कर लिने व्यवस्था गरेको थियो । तर इलाम नगरपालिकाले भने ५० पैसामात्र राखेको थियो । प्रदुषण नियन्त्रणबाट ३० लाख रुपैैयाँ कर संकलन गर्ने अपेक्षा राखेकोमा हालसम्म ५ लाख रुपैया कर संकलन भइसकेको जनाएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षबाट घरबहाल करमा बृद्धि गरेको छ ।

हाल नगरसभाबाट पारित भएर लागु हुँदै आएको ७ प्रतिशत करलाई बढाएर आर्थिक बर्ष २०७६, ७७ मा १० प्रतिशत पुर्याइएको छ । त्यसैगरी नगरले इलाममा मेडिकल कलेजको संभाव्यता अध्ययनपछि कलेजको लागि जग्गा खोजी र मुल्यांकनको लागि वडा नं ९ का अध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जग्गा खोजी तथा मुल्यांकन समिती गठन गरेको छ ।

तस्बिर स्राेतः गुगल