खोटाङः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मकै जोन)को कार्यालय खोटाङले जिल्लाका अगुवा किसानलाई हाते ट्याक्टर प्रदान गरेको छ । कृषि क्षेत्रलाई व्यवसायीकरण तथा आधुनिकीकरण गर्नका लागि परियोजनाले सोमबार १५ हाते ट्याक्टर प्रदान गरेको हो ।

प्रोत्साहन अनुदानअन्तर्गत नौ कृषक समूहलाई शतप्रतिशत अनुदानमा र व्यावसायिक रूपमा कृषि पेशा अपनाइरहेका छ किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा जमिन जोत्ने हाते ट्याक्टर वितरण गरिएको कार्यालयका निमित्त कृषि विकास अधिकृत ध्रुवकुमार कार्कीले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित फूलबारी कृषक, हरियाली आयआर्जन कृषक, हातेमालो कृषि सहकारी संस्था, पिप्ले दिक्तेलबारी कृषक, पञ्च मावि माझटोल कृषक समूहका किसानलाई ट्याक्टर वितरण गरिएको हो । खाल्लेस्थित नवजागरण तरकारी कृषक, नयाँ पहिचान कृषक, सक्रिय कृषक र सूर्यमुखी मकै बीउ उत्पादन कृषक समूहलाई शतप्रतिशत अनुदानमा प्रतिगोटा ८० हजार रुपैयाँ पर्ने एक÷एक थान हाते ट्याक्टर प्रदान गरिएको परियोजनाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा किसानकै मागका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिगोटा ६ वटा हाते ट्याक्टर पनि वितरण गरिएको मकै जोन सञ्चालक समितिका संयोजक दीपेन्द्र राईले बताए । परियोजनाले ५० प्रतिशत अनुदानमै मकै छोडाउने ७ वटा औजारसमेत प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले किसान तथा कृषि समूहलाई हाते ट्याक्टर तथा मकै छोडाउने औजार प्रदान गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामा परियोजना सञ्चालन भएको बताइएको छ ।