इनरुवाः प्रदेश १ सरकारले कोशी कटान क्षेत्रमा बनाउन लागेको कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजना कार्यालयको उद्घाटन भएको छ ।
आज बिहान साढे ९ बजे इनरुवा १ को शान्तिचोक क्षेत्रमा कार्यालयको उद्घाटन मुख्यमन्त्री शेरधन राईले गरेका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री (गृहमन्त्री) हिक्मत कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, विपक्षी दलका नेता राजीव कोइराला लगायतको उपस्थितिमा कार्यालयको उद्घाटन भएको हो ।
१५ बिघा क्षेत्रमा कोशी किनारमा बन्ने सेन्टरको सम्पूर्ण लागत ३५ करोड हाराहारी हुने प्रदेश सरकारको भनाइ छ । सेन्टरमा व्यायामशाला, सवारी पार्किङ, स्वीमिङ पुल, खाजाघरदेखि मनोरञ्जन र रिफ्रेसमेन्टका थुप्रै सुविधा हुने बताइएको छ । प्रदेश २ बाट प्रदेश १ प्रवेश मार्गमा र भारतीय सिमाना नाजिकैको यो परियोजना महत्वपूर्ण भएको प्रदेश सरकारको भनाइ छ ।