झापाः झापाको दुहागढीमा सञ्चालित बीबीसी इँटा उद्योगको प्रदूषणका कारण जनजीवन कष्टकर बनेपछि उद्योग बन्द गर्न माग गर्दै स्थानीयले वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
मेचीनगर–१४ को वडा कार्यालयमा उद्योगबाट निस्कने धुलो र धुँवाले स्वास्थ्यमा असर पार्नुका साथै उद्योग वरपरका जग्गामा किसानले लगाएको बालीनालीमा समेत क्षति पुगेको भन्दै स्थानीयवासीले ज्ञापनपत्र बुझाएका हुन् ।
विगत १२ वर्षदेखि सञ्चालित सो उद्योग स्थापना हुँदा स्थानीयवासी र तत्कालीन गाउँ विकास समितिसँग गरेका कुनै पनि सम्झौता पालना नगरेको स्थानीय बताउँछन् । सम्झौताको पहिलो बुँदामा स्थानीयवासीले प्रदुषण बढेको ठहर गरेमा जुनसुकै बेला उद्योग बन्द गर्नुपर्ने लेखिएको हुँदा सो उद्योग बन्द गर्नुको विकल्प नरहेको स्थानीयको भनाइ छ ।
वडा कार्यालयमा सङ्घर्ष समितिको अगुवाईमा १ सय ५० भन्दा बढी पीडितले हस्ताक्षर गरी उद्योग बन्द गराउन ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै वडाध्यक्ष शङ्करप्रसाद पोखरेलले वडावासीको समस्या समाधान गर्नेतर्फ तत्काल पहल गर्ने बताएका छन् ।