इटहरीः विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको शैक्षिक हड्तालको सामान्य प्रभाव परेको छ । प्रदेश १ का केही जिल्लाका शैक्षिक संस्था बन्द भए भने केही विद्यालयमा पठनपाठन भयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार केही विद्यालयले शैक्षिक संस्था बन्द गरेका छन् भने केहीले नियमित पठनपाठन गरिरहेका छन् । नेकपाका प्रवक्ता प्रकाण्डका छोरालाई पक्राउ गरेको विरोधमा आज नेकपाले शैक्षिक संस्था बन्दको घोषणा गरेको हो ।

उता, पहाडी जिल्ला सङ्खुवासभामा पनि बन्दको प्रभाव देखिएको छैन । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक श्याम सारु मगरका अनुसार जिल्लाका शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालनमा आए ।

बिहान विद्यालय खुल्ने समयमा विद्यालयका बसहरूलाई प्रहरीले स्कर्टिङ गरेर विद्यालय पुर्याएको मगरले बताए । जिल्लामा सुरक्षा सतर्कताको लागि सबै ठाउँमा प्रहरीको गस्ती टोली, सादा पोशाकका प्रहरी र मोटरसाइकल गस्तीसमेत गरिएको उनले बताए ।

धनकुटामा पनि बन्दको प्रभाव नदेखिएको बताइएको छ । केही निजी विद्यालयबाहेक अरु शैक्षिक संस्था निर्बाध रूपमा चलिरहेका छन् । तेह्रथुम, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङलगायत पहाडी जिल्लामा पनि बन्दको प्रभाव नगण्य मात्रामा परेको छ ।

झापा, मोरङ र सुनसरीका केही शैक्षिक संस्थामा बाहेक अन्य शैक्षिक संस्थामा कुनै पनि प्रभाव नपरेको बताइएको छ ।