पथरीः मोरङको पथरीशनिश्चरेमा पहिलो पटक मिस पथरीशनिश्चरे सुन्दरी प्रतियोगिता हुने भएको छ ।

मिस पथरीशनिश्चरे २०१९ सिजन १ उपाधी नाम दिइएको प्रतियोगिता माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको ब्यानर र सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा आयोजना हुन लागेको हो ।

सो प्रतियोगितको पहिलो अडिसन आगमी चैत १ गते हुने भएको छ । त्यसपछि अडिसनबाट छनोट भएका प्रतिष्पर्धीलाई २५ दिनको बन्द प्रशिक्षणपश्चात् बैशाखको पहिलो साता ग्रान्ड फिनाले आयोजना गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

नगरमा पहिलो पटक हुन लागेको प्रतियोगितामा विजेतालाई मिस पथरीशनिश्चरेको ताजसहित नगद ७५ हजार, एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार प्रदान गरिने आयोजकले बताएको छ । त्यसैगरी, द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ ।

त्यसैगरी, प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व, मिस क्याटवाक, बेस्ट फिगर, मिस ट्यालेन्ट, पब्लिक च्वाइज, बेस्ट हेयर स्टाइल र बेस्ट स्माइलसहितको ८ बिघामा सहभागी गराई आठै विधामा जनही ८ हजारका दरले पुरस्कृत गरिने बताइएको छ ।

अन्य छिमेकी नगरपालिकाले यस प्रकारको प्रतिस्पर्धाको आयोजना गरिसकेको अवस्थामा पथरीमा यो प्रतियोगिता आयोजना गर्नु अपरिहार्य रहेको महसुस गर्दै विविध चुनौतीका बाबजुद यो प्रतियोगिता सञ्चालन गर्न लागिएको संयोजक सन्तोष राईले बताए ।

पथरीशनिश्चरे नगरबाट राष्ट्रियस्तरको कुनै पनि ब्युटी प्रिजेन्टमा प्रतिनिधित्व नभइरहेको हुनाले सोे प्रतियोगिताले त्यो खडेरीलाई चिर्न सक्ने आयोजकले जनाएको छ ।  

करिब १४ लाख रुपैयाँको खर्चमा सम्पन्न गर्ने योजना रहेको प्रतियोगितामा नगरमा स्थायी बसोबास गर्दै आएका १६ वर्षदेखि २५ वर्षसम्मका कम्तीमा एसईई उत्तीर्ण युवतीले सहभागिता जनाउन सक्ने भएका छन् । 

प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले प्रतियोगिताको अफिसियल फेसबुक पेज मिस पथरीशनिश्चरे २०१९ मा सम्पर्क गर्न सक्ने आयोजकले बताएको छ ।