सङ्खुवासभाः सङ्खुवासभा जिल्लामा दिनानुदिन रगतको माग बढ्दै गएको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले दिएको जानकारी अनुसार जिल्लामा रगतको माग बढेको हो ।
रेडक्रसका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ५० जना सुत्केरी महिलालाई रगत दिइएको छ भने हेमोग्लोबिन कम भएका ३३ जनालाई समेत रगत प्रदान गरिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७५÷०७६ को पुस मसान्तसम्ममा मात्रै ६३ जना सुत्केरी आमालाई रगत दिइएको छ भने हेमोग्लोबिन कम भएका १२ जनालाई पनि रगत प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सङ्खुवासभाले सञ्चालन गरेको आकस्मिक रक्तसञ्चार सेवा २२ औ वर्षमा प्रवेश गरेको अवसरमा रेडक्रसले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
यही तथ्याङ्कलाई विश्लेषण गर्दा समेत जिल्लामा दिनानुदिन रगतको आवश्यकता बढेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सङ्खुवासभाका सभापति सरोजकुमार बज्राचार्यले बताए । उनका अनुसार सुत्केरी आमाहरूलाई नै बढी रगत प्रदान गरिएको छ ।
जिल्लामा ब्लड बैंक नहुँदा समस्या भएको सभापति बज्राचार्यले बताए । उनका अनुसार जिल्ला अस्पतालमा समेत ब्लड बैंक नहुँदा रगतको आवश्यक परेको बेला सेना र प्रहरीको सहयोग माग्नुपरेको छ । बज्राचार्यले दुखेसो गरे, ‘ब्लडको आवश्यकता पर्दा पहिले सम्झिने नाम हो रेडक्रस, अनि हामीले सेना र प्रहरीलाई पनि सम्झनु पर्छ ।’
्
इमर्जेन्सी कक्षमा रगत नपाएर बिरामी छट्पटाइरहेका हुँदा रेडक्रसका कर्मचारी र अस्पतालका चिकित्सकहरूले भने सैनिक गुल्मपति र प्रहरी प्रमुखलाई फोन डायल गर्ने गरेको बज्राचार्यले बताए ।
‘ड्युटीमा खटिएका सैनिक, प्रहरीलाई हतारहतार गरी हाकिमबाट बोलावट हुन्छ । मिल्दो रक्तसमूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन्’, उनले भने, ‘सेना र प्रहरीले धेरैको ज्यान बचाएको छ । यदि ब्लड बैंक थियो भने त्यहीँबाट दिन मिल्थ्यो नि ।’
स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रक्तदाता जुटाउनैमा एक घन्टाभन्दा बढी समय लाग्ने गरेको पाइन्छ । जिल्ला स्वास्थ्यको मागअनुसार सैनिक, प्रहरी जवानले यसरी आपतकालीन रक्तदान गर्न थालेको वर्षौं बितिसकेको छ ।
जिल्ला अस्पतालमा स्वास्थ्यकर्र्मी सेना र प्रहरीबाहेक अन्य पेशा व्यवसायीले प्रायः रक्तदान गरेको भेटिँदैन । खबर गर्न सजिलो र रक्तदानका लागि ‘कन्भिन्स’ गर्नु नपर्नेभएकाले सिधै सैनिक र प्रहरी कार्यालयलाई अनुरोध गर्ने गरेको जिल्ला अस्पताल खाँदबारीका निमित्त प्रमुख डा. लक्ष्मण खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले प्रहरीले धेरै बिरामीलाई मृत्युको मुखबाट बचाएको दाबी गरे । जिल्लाको स्वास्थ्य समस्यालाई बुझेर आफूहरूले इमर्जेन्सी सेवा दिएको उनले बताए । रक्तसमूह मिल्ने प्रहरी आफैं रक्तदान गर्न राजीखुसी हुन्छन् । जिल्ला कार्यालय भएकाले जुनसुकै समूहको रगत फेला पार्न गाह्रो नहुने मगरले बताए ।
चिकित्सकका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउनेहरू बढेझैं उनीहरूलाई रगत चढाउनुपर्ने अवस्था पनि उत्तिकै निम्तिने गर्दछ । त्यसैले जिल्लामा रगतको बढी खाँचो परेको हो । यता, रेडक्रसले खाँदबारीस्थित सेनाको गुल्म, सदरमुकाम सुरक्षाका लागि आएका सशस्त्र प्रहरी र जिल्ला प्रहरीका जवान र अधिकृतको नामावली र ब्लड ग्रुप राखेर सम्पर्क गर्दै बिरामीलाई रगत उपलब्ध गराउने गरेको रेडक्रस जिल्ला शाखाकी कार्यालय प्रमुख लक्ष्मी कार्कीले बताइन् ।
जिल्ला अस्पतालका निमित प्रमुख डा. लक्ष्मण खड्काले बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्ने गरेको अनुभव सुनाए । बिरामीलाई रगत दिनुपरेमा प्रहरी र सेनाकै भर पर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
यता, जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाको लागि भन्दै सिर्जनशील सामुदायिक विकास केन्द्रले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई २९ हजार ५ सय ८५ रुपैयाँ बुझाएको छ । सो रकम जिल्लामा लाग्ने एकादशी मेलमा चिया बेचेर सङ्कलन गरेको केन्द्रकी सचिव बबिता कटुवालले बताइन् ।
उनले जिल्लाका सरोकारवालालाई झक्झक्याउन यो अभियान शुरु गरेको बताइन् । उनले भनिन्, ‘जिल्लामा ब्लड बैंकको आवश्यकता पनि छ । यतिका वर्ष हुँदासम्म यसको लागि कसैले पहल गरेको पाइएन र हाम्रो संस्थाले यो अभियान थालेको हो ।’