इटहरीः पानी उत्पादन गर्ने उद्योगले कानुन उल्लङ्घन गरेको भन्दै नियमनकारी निकायले कारवाही अघि बढाएको छ । बिहीबार इटहरीका विभिन्न ५ पानी उद्योग अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले ३ उद्योगमा छापा मारी सिल लगाइदिएको हो ।

सिल लगाएका उद्योगहरूमा एभरेष्ट वाटर इन्डष्ट्रिज, पारिजात जल उद्योग र कोशी जल रहेको डिभिजन कार्यालयका प्रमुख विक्रम लिम्बूले जानकारी दिए । उनले प्रशोधित पिउने पानी उत्पादन निर्देशिका २०७४ ठाडै उल्लङ्घन गरेको पाइएको जानकारी दिए । ‘कानुनले स्पष्ट निर्देशित गरेको कुरा व्यवहारमा लागू भएको पाएनौं’, उनले भने, ‘मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेको हामीले बुझ्यौँ ।’

उनका अनुसार बिहीबार सिल गरिएका उद्योगको अनुज्ञापत्र नवीकरण गरिएको थिएन । त्यस्तै, निर्देशिकामा स्पष्ट रूपमा व्यवस्था भएका विभिन्न बुँदाहरू कार्यान्वयन गरिएको थिएन । जस्तैः पानी भर्ने स्वचालित मेसिन हुनुपर्नेमा उक्त मेसिन थिएन, पानी उत्पादन गर्ने स्थान सफा हुनुपर्ने त्यो पनि थिएन । त्यस्तै मेसिन खिया नलाग्ने स्टिलको हुनुपर्ने र ल्याबको अनिवार्य व्यवस्था गर्नुपर्ने भए पनि यी महत्वपूर्ण नियम उद्योगले मानेनन् ।

mid  page add.PNG 1

उत्पादनमा रोक
अनुगमनपछि सरकारी अधिकारीहरूले पानी उद्योगको उत्पादनमा रोक लगाएका हुन् । पानी भर्ने मुख्य मेसिनको टुटीमै सिल लगाएर उत्पादन रोक लगाइएको लिम्बूले बताए । ‘निर्देशिकालाई अक्षरश लागू नगर्ने अन्य उद्योगलाई पनि नियमनको दायरामा ल्याउने प्रक्रियामा छौँ’, उनले भने ।

अब के हुन्छ ?
पानी उत्पादक कम्पनीलाई चेतावनीसहित सुधार गर्न म्याद दिइएको छ । बजारमा पानी नजाओस् भन्नका लागि सिल गरिएको जानकारी दिँदै लिम्बूले भने, ‘भएका पानी पनि बजारमा नपठाउनू भनेका छौँ, अरु पानी पनि उत्पादन नहोस् भन्नका लागि हामीले रोकेका हौँ ।’

उनले उत्पादन गर्ने कम्पनीले तोकिएको मापदण्डा पूरा गरेर लिखित प्रतिबद्धतासहित आए मात्र सिल खोलिने जानकारी दिए । उनका अनुसार सिल खोलिए पनि कस्तो उत्पादन हुँदैछ भन्ने बारेमा कार्यालयले निरन्तर निगरानी गर्नेछ ।