ताप्लेजुङः ताप्लेजुङका उच्च क्षेत्रमा वर्षासँगै भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

बिहीबार दिउँसोदेखि परेको वर्षा र हिमपातपछि चिसो बढेकाले जिल्लाका केही उच्च भेगका स्थानीय प्रभावित बनेका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका स्थित ओलाङचुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका स्थानीय चिसोको मारमा परेका छन् ।

चिसोका कारण त्यहाँका स्थानीय दिनभरजसो आगो तापेर बसे । हिजोआज परेको हिउँ चाँडै बिलाउने भएकाले मौसममा सुधार भए चिसोको प्रभाव लामो समयसम्म नरहने स्थानीय बताउँछन् । उच्च क्षेत्रमा हिमपात र जिल्लाभर नै वर्षा भएपछि सबै क्षेत्रमा अघिल्लो दिनको तुलनामा चिसो बढेको स्थानीयले बताए ।

उच्च क्षेत्रका स्थानीय चिसोको मारमा परे पनि किसानलाई भने फाइदा भएको छ । लामो समयको खडेरीपछि वर्षा भएका कारण हिउँदे बालीनालीका लागि सिँचाइ हुने भएकाले किसानलाई फाइदा पुगेको हो ।

वर्षाले अलैँची, गहुँ, जौ, आलु, तोरी र हिउँदे तरकारी बालीलाई विशेष फाइदा पुगेको स्थानीयले बताएका छन् । गत असोजदेखि नै लामो वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन नसकेको किसानको भनाइ छ । जिल्लाभर नै दिउँसोदेखि वर्षा भएको थियो ।