झापाः बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ ।
फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गरे ।
गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रिटसमेत नेपाल आएका थिए । उनीहरूले तीनसम्म मेचीनगर, बिर्तामोड, दमक, भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा कार्यरत अग्निनियन्त्रक तथा नगर प्रहरीलाई विपत् व्यवस्थापनसम्बन्धी तालीम प्रदान गर्ने बताइएको छ ।
मेचीनगर–६ काँकडभिट्टा निवासी गुरुङ बेलायत फोक्सटन क्षेत्रका नेपालीमूलको पहिलो पूर्वकाउन्सिरसमेत हुन् । यसअघि गुरुङकै सक्रियतामा भारतीय राजदूतावासमार्फत् एउटा एम्बुलेन्स मेचीनगर नगरपालिकालाई उपलब्ध गराइएको थियो ।