झापाः झापाको सबैभन्दा जेठो नगरपालिका भद्रपुर नगरपालिकाले तेस्रो नगरसभा बुधबार सम्पन्न गरेको छ ।
जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि झापाका १५ वटै स्थानीय तहमध्ये सबैभन्दा पहिले भद्रपुरले नगरसभा गरेको हो । भद्रपुरले पहिलो र दोस्रो नगरसभा पनि अरु स्थानीय तहभन्दा अगाडि नै सम्पन्न गरेको थियो ।
यो नगरसभालाई चालु आर्थिक वर्षको पहिलो ६ महिनाको प्रगतिको समीक्षा, त्यसमा देखिएका कमी–कमजोरीको सुधार र थप नयाँ योजना, निर्णय र कार्यान्वयनको समीक्षाको कडीको रूपमा लिइएको छ ।
नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा नगरपालिकाकै सभाहलमा सम्पन्न सो नगरसभाले भद्रपुर नगरपालिकाको काम–कारवाही स्थानीयस्तरसम्म सहज तथा सुलभ रूपमा परिचालन गर्ने उद्देश्यले तयार भएका कार्यविधि तथा मापदण्डसहितका संशोधनसहितको २९ वटा निर्णय पारित गरेको छ । नगरसभाले हिंसापीडित तथा मानव बेचबिखनपीडित महिला र बेवारिसे बालबालिकाका लागि अल्पकालीन सेवा केन्द्र तथा कोष (सञ्चालन कार्यविधि २०७५ र टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५ पारित गरेको छ ।
त्यस्तै, .अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरेको छ भने मदिरा व्यवसाय सञ्चालन तथा बिक्री वितरण मापदण्ड २०७५ र जग्गा खण्डीकरण गर्नेसम्बन्धी मापदण्ड २०७५ पारित गरेको छ ।
त्यसैगरी, नगरसभाले कृषि समूह गठन, कृषि सहकारी संस्था, सहकारी पसल सञ्चालनसम्बन्धी दर्ता, शुल्क र नवीकरणसम्बन्धी, सुरक्षित आप्रवासन परियोजना (सामी), नगरपालिका तथा वडा कार्यालय भवन, आधारभूत स्वास्थ्य केन्द्र तथा ज्येष्ठ नागरिक भवन निर्माणसम्बन्धी व्यवस्थालाई पारित गरेको छ ।
नगरसभाले नगरपालिकाको बृहत एकीकृत शहरी विकास योजना, नगरपालिकाको भू–उपयोग गुरुयोजना, यातायात गुरुयोजना र पर्यटन गुरुयोजनालाई पनि पारित गरी यथाशीघ्र कार्यान्वयनको चरणमा लैजाने निर्णय गरेको छ भने बिर्तामोडबाट झापाको सदरमुकाम जोड्ने सडक मर्मत सुधार र ४ लेनको सडक बिर्तामोडबाट ४ किलोमिटर मात्र भएकाले सो सडकलाई ४ लेनकै मापदण्डबमोजिम भद्रपुरसम्म पु¥याउने गरी नेपाल सरकार, भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमा अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
यसैगरी, भद्रपुर नगरपालिकाभित्र सञ्चालित सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माणाधीन सडक तथा नाला समयमै सम्पन्न गराउने गरी पहल गर्ने र सो कार्यक्रमका लागि प्राप्त हुने भनिएको थप बजेट प्राप्तिका लागि पनि पहल गर्ने निर्णय गरिएको बताइएको छ ।
नगरसभाले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउन अवलम्बन गर्नुपर्ने चरण पूरा गरी भद्रपुरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, विगतदेखि हालसम्म फर्छ्योट हुन नसकेको १ करोड ५१ लाख ५६ लाख ४ सय ४९ रुपैयाँ पेश्की रकम फर्छयोटका लागि सम्बन्धित व्यक्ति तथा संस्था–निकायलाई ताकेता गर्नुपर्ने देखिएको लेखा समिति संयोजक तथा ६ नं वडा सदस्य अजय साहेवालाले बताए ।
सामाजिक शाखा प्रमुख राजन न्यौपानेले सञ्चालन गरेको नगरसभामा नगरसभाको विषयगत समितिका संयोजकहरुले आ–आफ्नो विषयको प्रगति प्रस्तुत गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए ।
नगरपालिकाले तयार पारेको बृहत शहरी विकास योजनाको पुस्तकसमेत लोकार्पण गरिएको नगरसभामा उपप्रमुख चन्द्रा श्रेष्ठले सबै जनप्रतिनिधिको एकताबद्ध प्रयासबाट नगरसभाले अनुमोदन गरेका निर्णय कार्यान्वयन गर्न सकिने उल्लेख गरिन् भने वडाध्यक्ष गौरव सुब्बाले जनप्रतिनिधि आएपछि नगरवासीले समाजमा परिवर्तन आएको महसुस गर्न सक्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।